काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरिएको तीन दिने ‘नेपाल फेसन फेस्टिभल’ सफलतापूर्वक सम्पन्न भएको छ ।
‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलालाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ फेसन नेटवर्क नेपालले शुक्रवारदेखि आइतबारसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा फेस्टिभलको आयोजना गरेको हो ।
आयोजक संस्थाका संस्थापक निर्देशक प्रशान्त ताम्राकारका अनुसार नेपाल फेसन फेस्टिभलमा अपेक्षा गरिएको भन्दा बढी सहभागिता भएको छ । ‘तीन दिनको अवधिमा हाम्रो फेस्टिभलमा करिव सात हजार बढीले अवलोकन गर्नु भएको तथ्यांक छ, निर्देशक ताम्राकार भन्छन्, ‘लामो गृहकार्यपछि हामीले जुन उद्देश्यले यो फेस्टिभल आयोजना गरेका थियौं, त्यसमा धेरै हदसम्म सफल पनि भयौं ।’
आयोजक संस्थाका अर्का संस्थापक शेखरराज कसजुका अनुसार फेस्टिभलमा युवासहित हरेक उमेर समुहका व्यक्तिले अवलोकन गरेको, स्टलमा फेसनदेखि जीवनशैली र स्वास्थ्य सेवा लिएको तथा प्यानल छलफलदेखि रनवे फेसनबाट मनोरञ्जन लिएका थिए ।