काठमाडौँ - म्यानचेष्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले क्रिस्टियानो रोनाल्डोको आलोचना गरेका छन्। आइतबार रायो भालेकानोविरुद्ध ओल्ड ट्राफोर्डमा भएको खेलमा रोनाल्डो लगायत केही खेलाडीले बीचमै मैदान छाड्नु अस्वीकार्य भएको टेन हागले बताएका छन्।
प्रि - सिजनमा पहिलो खेल खेलेका रोनाल्डो दोस्रो हाफमा रिप्लेस भएका थिए। त्यसपछि उनले मैदान नै छाडेका थिए। रोनाल्डोसँगै डिएगो डालोटले पनि मैदान छाडेको फोटो सार्वजनिक भएको थियो।
यस्तै डिरेक्टर्स बक्समा बसेका अरु खेलाडीले पनि खेलअघि ने मैदान छाडेका थिए। ‘हामी टिम हौँ र यसको अर्थ सबै जना खेलको अन्त्यसम्म बस्नुपर्छ,’ टेन हागले भिअप्लेलाई भने, ‘यसमा संलग्न सबैका लागि यो अस्वीकार्य छ।’
युनाइटेड र रायो भालेकानोबीचको खेल १-१ को बराबरीमा सकिएको थियो। ३७ वर्षीय रोनाल्डो गत सिजन युभेन्ट्सबाट युनाइटेड पुगेका थिए। उनी युनाइटेडको प्रि- सिजन टुर अन्तर्गत थाइल्याण्ड र अष्ट्रेलिया भ्रमणमा गएका थिएनन्।
युनाइटेड च्याम्पियन्स लिगमा छनोट नभएपछि रोनाल्डोले क्लब छाड्न चाहेको खबर बाहिरिएको थियो। तर प्रशिक्षक टेन हागले रोनाल्डो बीक्रीका लागि नरहेको बताउदै आएका छन्।
युनाइटेडले प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेल अगष्ट ७ मा ब्राइटनसँग खेल्नेछ।