आयरल्यान्डसँगको चौथो टी-२० क्रिकेटमा अफगानिस्तान विजयी

काठमाडौँ - आयरल्यान्डसँगको चौथो टी-२० क्रिकेटमा अफगानिस्तान विजयी भएको छ। अफगानिस्तान विजयी भएसँगै यी २ देशबीचको ५ खेलको टी-२० शृङ्खला २-२ को बराबरी भएको छ।

बेलफास्टमा गएराति भएको खेलमा अफगानिस्तान २७ रनले विजयी भयो। निरन्तर पानी परेका कारण खेल ११ ओभरमा छोट्याइएको थियो। अफगानिस्तानले दिएको दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको घरेलु टोली आयरल्यान्डले ११ ओभरमा अलआउट हुँदै १ सय ५ रन  बनायो। उसका जर्जी ड्याकरोलले अविजित ४१ तथा पउल स्ट्रलिङले २० रन बनाएका थिए।

अफगानिस्तानका फरिद अहमदले ३ तथा नवीन उल हक र रसिद खानले समान २/२ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११ ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो। उसका नजिबुल्लाह जाड्रनले ५० रनको अर्धशतकीय पारी खेलेका थिए।

आयरल्यान्डका गारिथ डिलेनीले ३ तथा मार्क अडिर, बारी म्याककार्थी र फियो ह्यान्डले समान १/१ विकेट लिएका थिए। २ देशबीचको पाँचौँ तथा निर्णायक खेल बुधवार हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×