काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि विनापुष्टिको आरोप लगाई शुरू भएको आन्दोलन विफल भइसक्दा आन्दोलनका नाइके नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको असल नियतको खुलासा भएको छ।
सर्वोच्च अदालतमा विकृति देखिएको आरोप लगाई सुधारका बुँदाहरू अघि सारेर आन्दोलन गरिएको भएपनि सुधारका मग सम्बोधन भइरहँदा आन्दोलन मत्थर हुनुको साटो अझै चर्किँदै जानुले आम जनमानसमा आन्दोलनकारीहरूको नियतमाथि विभिन्न किसिमको शंका उठिरहेको अवस्थामा बार अध्यक्षको कुटिल मनसाय पर्दाफास हुन पुगेको हो। नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफ्नो छोरा राजेश्वरलाई न्यायाधीश बनाउन नपाएको रिस प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि पोखिरहेको खुल्न आएको छ।
आफ्नो छोरालाई न्यायाधीश बनाउनको लागि सिफारिस गरिएको तर सो माग सुनुवाइ नभएको हुँदा श्रेष्ठ चिढिएको खुल्न आएको छ। सोही कारण बार अध्यक्ष श्रेष्ठले बारको आन्दोलनमा आफूलाई उग्र रूपमा प्रस्तुत गरिरहेको उनका नजिकका कानून व्यवसायीहरूले नै कुरा गर्ने गरेको पाइएको हो।
साथै, श्रेष्ठको सिर्जना ल फर्म प्रा.ली. ले प्रत्येक वर्ष न्यायाधीशमा कोटा माग्ने गरेको तथ्यसमेत फेला परेको छ। सदाझैँ यसपटक पनि उनले आफ्नो फर्मबाट छोरा राजेश्वर श्रेष्ठलाई न्यायाधिश बनाउन सिफारिस गरेका थिए। तर, न्यायाधीश हरिकृष्ण कार्कीका कारण छोरालाई सर्वोच्च अदालतको सम्माननीय न्यायाधीश बनाउने श्रेष्ठको योजना तुहिएपछि अदालतप्रति उनी चिढिएका हुन्।
त्यतिमात्रै नभएर आफ्नो छोराका नाम सिफारिस गर्दा पनि न्यायाधीश नबनाइएपछि उनले अधिवक्ता ओम अर्यालकी श्रीमती पुनदेवी महर्जनलाई सिफारिस गरेका थिए। उक्त सिफारिस पनि प्रधानन्यायाधीश जबराले अस्वीकार गरेका थिए। श्रेष्ठ त्यसपछि ल फर्म पार्टनर उज्वल शुक्लालाई २०७५ मा न्यायाधीश बनाएका थिए। शुक्ला हाल पोखरा उच्च अदालतमा कार्यरत छन्। त्यस्तै, उच्च अदालत जनकपुरमा कार्यरत राज्यलक्ष्मी श्रेष्ठलाई न्यायाधीश बनाउन पनि बार अध्यक्ष श्रेष्ठको हात रहेको खलेको हो।
बार अध्यक्ष श्रेष्ठको नेतृत्वमा रहेको सिर्जना ल फर्म प्रा.लि. (जसको भ्याट नम्बर ६०५९६७३६६) ले २०७५ देखि कर नतिरेको पनि आरोप छ। ‘श्रेष्ठले हरेक मुद्दामा घुस खाने गरेको र सम्पति विवरण पनि गोप्य राख्ने गरेको साथै राजस्व पनि नतिर्ने रणनीति श्रेष्ठले अपनाएको देखिन्छ। यो एक प्रकारको भ्रष्टाचार हो।’ एकजना वरिष्ठ कानून व्यवसायीले भनेका छन्।
बारका अध्यक्ष श्रेष्ठजस्तै यसपटक बारको आन्दोलनमा उग्र भएर प्रस्तुत भैरहेका छन्–महासचिव लिलामणी पौडेल । उनी आक्रामक रुपमा प्रस्तुत हुनुको कारण उनी पनि उच्च अदालतको मुख्य न्यायाधीश हुन चाहन्छन्। सर्वोच्च अदालतनिकट उच्च स्रोतकाअनुसार प्रधानन्यायाधीश जबरालाई हटाएर आफूलाई प्रधानन्यायाधीश बनाएमा पौडेललाई उच्च अदालतको मुख्य न्यायाधिश बनाउने वचन सर्वोच्चका न्यायाधीश दीपक कार्कीले दिएका छन्।
तर, पछिल्लो समय बारको आन्दोलन एकपछि अर्को गरेर विवादित र व्यक्तिगत स्वार्थमा केन्द्रित हुन थालेको भन्दै कमजोर बनेको छ। अहिले बारले नागरिक समाजको नाममा दलसमेत गुहारेको छ। कतिपय संविधानविद्हरूले बारको आन्दोलन र मार्चपासलाई नौटंककीको संज्ञासमेत दिएका छन्।
आन्दोलन विफल भइरहँदा आन्दोलनका नाइके नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको असल नियत पर्दाफास हुन पुगेको हो।
स्रोतः रिपोर्टर्स नेपाल