चितवन - पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नंको बस र भैरहवाबाट काठमाडौँतर्फ गइरहेको लु २ ख ३५०२ नंको माइक्रो विङ्गर एकआपसमा ठक्कर खाँदा घाइते भएका विङ्गरमा सवार नाम, थर, वतन नखुलेका अन्दाजी ३५-३६ वर्षका एक पुरुषको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा परी दुवै सवारी साधनका गरी अन्य १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए। उनका अनुसार घाइतेमध्ये विङ्गर चालक रुपन्देहीको बुटवल नगरपालिका–२ का २५ वर्षीय कमल दर्जीको अवस्था गम्भीर रहेको छ। घाइतेमध्ये पाँच जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।