काठमाडौँ - अनिल बुढा मगरको डकुमेन्ट्री फिल्म 'आग्रे'ले जर्जियामा सम्पन्न 'मेस्टिया इन्टरनेसनल सर्ट एण्ड माउन्टेन फिल्म फेस्टिबल' को डकुमेन्ट्रीतर्फ उत्कृष्ट उपाधि जितेको छ।
१०औं वर्षसम्म फलामखानीमा काम गरेका रोल्पाली वृद्धको जीवन संघर्षबारे तयार पारिएको 'आग्रे'ले अहिलेसम्म विभिन्न १५ देशका फिल्म फेस्टिबलमा प्रदर्शन हुनुका साथै ४ वटा अवार्ड जितिसकेको छ।
यसपटक जर्जियामा सम्पन्न फेस्टिबलमा नेपालसहित मेक्सिको, जर्जिया, नेदरल्याण्ड, स्लोभाकिया लगायत देशका फिल्मले विभिन्न विधामा अवार्ड जितेका छन्।
उक्त फेस्टिबलमा नेपालबाट भने अनिल बुढा मगरको मात्रै फिल्म प्रदर्शन भएको थियो। यद्यपि नेपालको धौलागिरि हिमालबारे स्लोभाकियाका फिल्मकर्मीले तयार पारेको फिल्मले माउन्टेन फिचर फिल्मतर्फ उत्कृष्ट अवार्ड जितेको छ।
फिल्मकर्मी अनिल बुढा मगरको पहिलो डकुमेन्ट्री 'लोम्बा'ले पनि यसअघि विभिन्न अवार्ड जितेको थियो। जर्जियामा पुरस्कृत डकुमेन्ट्री 'आग्रे' उनको दोस्रो डकुमेन्ट्री हो। जर्जियाको फिल्म फेस्टिबलमा 'आग्रे'ले उत्कृष्ट सिनेमाटोग्राफीको उपाधि पनि जितेको छ।
रोल्पाको जेलवाङमा सरकारले फलामखानीहरू बन्द गरिदिएपछि पहिले खानीमा काम गरेर जीवीकोपार्जन गरेका स्थानीयहरूको जीवन कसरी प्रभावित बन्यो भन्ने विषयलाई फिल्मकर्मी बुढाले 'आग्रे'मा देखाएका छन्।