बझाङ - खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँकी पुनम सार्की विरामी पर्नुभएको दुई महिना भयो। भारतका विभिन्न अस्पतालमा उपचार गर्दा पनि सञ्चो नभएपछि उनको परिवार गत हप्ता नेपाल फर्किए। बझाङको तमैल बजारसम्म गाडीमा आएका उनीहरू तमैलबाट भने ‘स्टेचर’का सहारामा आफन्तले सार्कीलाई घर पुर्याएका छन्।
गत वर्ष बाढीले तहसनहस बनाएको छान्नामा यसपटक पनि मनसुन सुरु भएलगतै जडारीगाडले सडक बगाएपछि यातायातका साधन बन्द छ। छोरा राजु सार्कीले भने, “बिरामी बोकेर आएका, त्यसैमाथि बाटोमै पहिरो आएर हामी त निकै आत्तिएका थियौँ। हत्तपत्त पहिरो छल्दै अगाडि आयौँ।”
“कान्छो भाइलाई काकासँग छोडेर आयौँ”, राजुले भने, “डाक्टरले गाउँमै लैजान सुझाव दिएपछि घर आएका हौँ। यता बाटो नै रहेनछ। एक÷दुई जनालाई पनि अघिपछि हिँड्नै नसक्ने ठाउँमा स्टेचरमा दुई अघि दुई पछि मुस्किलले घर पुगेका छौँ।”
सार्की परिवारलाई मात्रै होइनन्, अहिले छान्नामा जडारीगाड सबैको दुःख बनिरहेको छ। छान्ना प्रवेशदेखि सुरु हुने जडारीगाडले कतै सडक भत्काइएको छ भने कतै गाडले नै आफ्नो बाटो बदलेको छ।
छान्नाको करिब १० किलोमिटर जमिनको छेउछाउमा बग्ने जडारीगाडले बर्खायाममा सधैँ दुःख दिने गरेको खप्तड छान्ना–५ का कृष्ण थापाले बताए। “जडारीगाडले हामीलाई हिउँदबाहेक जहिल्यै दुःख दिन्छ”, उनले भने, “गत वर्ष आएको बेमौसमी बाढीपछि त हत्केलामा ज्यान राखेर हिँड्नुपर्छ। बाटो नै हुँदैन। बनाइएको बाटो पनि हप्ता दिनभन्दा बढी टिक्दैन।”
बाटो सहज नहुँदा बिरामीलाई बोक्नुप-यो भने त ज्यान नै तलमाथि हुनसक्ने उनले बताए। गत वर्ष असोज ३० गतेदेखि कात्तिक ३ सम्म आएको बेमौसमी बाढीका कारण छान्नामा करोडौँको भौतिक क्षति भएको थियो भने छ जनाको ज्यानै गएको थियो। मौसम पूर्वानुमान महाशाखाले गत वर्षको बाढीले गलेको जमिन बग्न सक्ने जनाउँदै सतर्कता रहन आग्रह गरेपछि खोला किनाराका बस्ती भने सङ्कटमा परेका छन्।
खप्तडछान्ना गाउँपालिका–१ का सुरेन्द्र खाती भन्छन्, “मौसम पूर्वानुमान महाशाखाले पनि गलेको जमिन फेरि बग्ने सङ्केत गरेको छ। अब हाम्रो त कतै जाने ठाउँ पनि छैन। गत वर्षको बाढीले सर्वस्व लुट्यो। यो वर्ष त झनै के गर्ने भन्ने सोचेका पनि छैनौँ।”
उनका अनुसार खातीगाउँमा पानी परेको दिनमा रातभर जाग्राम बस्छन्। दिउँसो आँगनमै जडारीगाड हेरेर टोलाउँछन्। “अब के गर्ने, कता जाने, के खाने पनि टुङ्गो छैन। गत वर्षको बाढीले सबै लुट्यो। अहिले रित्तै छौँ”, उनी भन्छन्।
खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया भने बाढीपीडितका लागि अहिले बजेट नभएको र अब यसै नयाँ आर्थिक वर्षबाट बाढीपीडितका लागि आवश्यक व्यवस्था गर्ने बताउछन्। उनले भने, “योभन्दा अगाडि बजेट पनि थिएन। अहिले उहाँहरूका लागि बजेट छुट्याएका छौँ। अब कार्यान्वयन हुन्छ।”
उनी विपद् न्यूनीकरणका लागि पनि पूर्ण रुपमा तयारी गरेको बताउछन्। “गत हप्ता विपद्सम्बन्धी पूर्वतयारीका लागि बैठक पनि बसेको थियो। त्यसमा सचेत रहन सबैका लागि सूचना पनि जारी गरेका थियौँ। हाम्रो गाउँपालिकामा रहेको जेसिबीलाई पनि तम्तयार अवस्थामा राखेका छौँ,” उनी भन्छन्। उनले कुनै ठाउँमा घटना घट्यो भने पनि सबै निकायलाई तयारी अवस्थामा राखिएको बताए। जडारीगाडले बाटो क्षति पु-याएका ठाउँमा पनि वैकल्पिक बाटो बनाएको छ। उनका अनुसार घाटखोला, खातीगाउँ, कालुखेतीमा वैकल्पिक बाटो तयार पारिएको छ।
“पहिरोजन्य ठाउँमा पनि नजानका लागि सर्वसाधारणमा अनुरोध गरेका छौँ”, अध्यक्ष खाती भन्छन्, “गाउँपालिकाभरि आएका पहिरामा नहिँड्नका लागि पनि सबैलाई आग्रह गरेका छौँ। कुनै घटना घटिहालेमा तत्काल उद्धारका लागि सुरक्षा निकायलाई ‘हाइअलर्ट’मा राखेका छौँ।”
उनले गाउँपालिकामा गर्भवतीको अवस्था हेरेर सरकारी हेलिकोप्टरको व्यवस्था गर्ने जानकारी दिए। “असोजमा हुने सुत्केरीको नामावली तयार पार्न स्वास्थ्य संयोजकलाई निर्देशन दिएका छौँ। बच्चा जन्माउन नसक्ने अवस्था भएमा तत्काल हेलिकोप्टरमार्फत ‘रिफर’ गर्नेछौँ। यसका लागि सम्बन्धित सबै निकायसँग समन्वय गरिरहेका छौँ”, उनले भने।