काठमाडौँ - फ्रेन्च सुपरस्टार केलिएन एम्बाप्पे विश्वकपको ९२ वर्षे इतिहासमा फाइनल खेलमा ह्याट्रिक गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि १९६६ मा इंग्ल्याण्डका जिओफ हर्स्टले फाइनलमा ह्याट्रिक गरेका थिए।
फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेइन पीएसजीका एम्बाप्पेले अर्जेन्टिनाले २ पल्ट अग्रता लिएको अवस्थामा गोल गरी खेल बराबरीमा ल्याए। पहिलो हाफमै अर्जेन्टिनाले २ गोलको अग्रता बनाएर फ्रान्सलाई दबावमा राखेको थियो।
दोस्रो हाफमा सुधारिएको फ्रान्सका लागि एम्बाप्पेले २ गोल गरी खेललाई अतिरिक्त समयमा लगेका थिए। उनले ८०औं मिनेटमा पेनाल्टीमा गोल गरे। त्यसको अर्को मिनेटमै गोल गरी खेल बराबरी गरेका थिए।
३० मिनेटको अतिरिक्त समयमा लियोनल मेसीले अर्जेन्टिनाका लागि गोल गर्दा फ्रान्स फेरि पछि परेको थियो। तर, ११८ औं मिनेटमा पेनाल्टीमार्फत नै गोल गरी विश्वकपमा आफ्नो ह्याट्रिक पूरा गरे तथा खेल बराबरीमा ल्याए।
पेनाल्टी शुटआउटमा फ्रान्सका २ खेलाडीले गोल गर्न नसक्दा अर्जेन्टिना ४-२ गोलअन्तरले विजयी रह्यो। विश्वकपमा ८ गोल गरी एम्बाप्पेले गोल्डेन बुट अवार्ड जितेका छन्। ४ वर्षअघि फ्रान्सलाई विश्वकप जिताउन निर्णायक प्रदर्शन गरेका एम्बाप्पेले विश्वकपमा अहिलेसम्म १२ गोल गरेका छन्।