काठमाडौँ। बाईबाई पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा प्रदेश १ ले बागमती प्रदेशमाथि २६ रनको जित निकाल्दै सुखद् सुरुवात गरेको छ। १७६ रनको विजयी लक्ष्य पछ्याएको बागमती ३१.४ ओभरमा अल आउट हुँदै १४९ रनमा समेटियो।
बागमतीका लागि विपिन शाहीले ४३ तथा विवेक मगरले ४२ रनको योगदान दिए। प्रदेश १ का लुभ कामतले ५, दीपेश कँडेलले ३ तथा दीपक जोशीले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले ४५.३ ओभरमा सबै विकेट गुमाउँदै १७५ रन बनाएको थियो। प्रदेश १ का लागि लुभ कामत र दीपक जोशीले सर्वाधिक ३३–३३ रनको योगदान दिए। सोनु अन्सारीले ३२ र दीपेश कँडेलले २३ रन बनाएका थिए।