काठमाडौँ - राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, म्याग्दी शाखाले कलाकार कल्याणकारी कोष स्थापना गरेको छ।
प्रतिष्ठानको २१ औँ स्थापना दिवस तथा लोकदोहोरी दिवस २०७८ को अवसरमा रु. एक लाख ५० हजारको कोष स्थापना गरिएको हो। प्रतिष्ठानका सचिव पदम विश्वकर्माले कोषबाट अप्ठ्यारोमा परेका कलाकारलाई सहयोग गरिने जानकारी दिए। “प्रतिष्ठानका पदाधिकारी, सदस्य र दाताको सहयोगमा कोष बनाएका हौँ”, उनले भने, “जटिल रोगबाट थलिएका कलाकारको उपचार, दुर्घटना, विपद्बाट प्रभावित भएको अवस्थामा सहयोग गर्छौँ।”
यसैगरी, प्रतिष्ठानले आइतबार बेनी नगरपालिका–८ स्थित कृष्ण गण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्रलाई मादल र खैजडी सहयोग गरेको छ। प्रतिष्ठानका संस्थापक केन्द्रीय सदस्य अग्रज लोक गायिका धनकुमारी थापा, सल्लाकार जीवनकुमार विश्वकर्मा र जिल्ला अध्यक्ष देवेन्द्र घिमिरेले केन्द्रका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठ र उपाध्यक्ष नैनकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।
ज्येष्ठ नागरिकलाई भजन कीर्तन तथा साङ्गीतिक कार्यक्रम सञ्चालनमा सहयोग पुगोस् भनेर वाद्यवादनका सामग्री प्रदान गरिएको उनले बताए।