काठमाडौं । सत्ता गठबन्धन दलहरुको बैठक आज (बुधबार) बस्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच बालुवाटारमा संसद्को गतिरोधको विषयमा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री प्रचण्डले आज सत्ता पक्षका नेताहरुको बैठक बस्ने तयारी भएको जानकारी दिएका हुन् ।
घिमिरेलेले राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव समेत पारित नभएको सन्दर्भमा प्रतिपक्षी दलसँग तत्कालै सहमति गर्न अपिल गरेपछि प्रचण्डले भोलि बस्ने संसद बैठक सहज ढंगले अगाडि बढ्ने बताए । प्रधानमन्त्री र सभामुखबीच करिब ४५ मिनेट संसद अवरोधकै विषयमा केन्द्रित रहेर छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।