काठमाडौँ - इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत लण्डन डर्बीमा चेल्सीलाई बराबरीमा रोक्दै टोटनहम हट्स्पर्सले अंक खोसेको छ। आइतबार राति भएको खेलमा घरेलु मैदान स्टामफर्ड ब्रिजमा चेल्सीले २ पटक अग्रता बनाए पनि जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो।
लण्डन डर्बीको खेलमा टोटनहमले चेल्सीलाई २-२ को बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो। चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले गोल गरेका थिए। टोटेनहमका पिएर एमिल होएबिएर र ह्यारी केनले गोल गर्दै रोमाञ्चक बराबरी खेलेका हुन्।
खेलको १९ औँ मिनेटमा कौलिबालीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० भएको खेलमा बाँकी ३ गोल दोस्रो हाफमा सम्भव भएको थियो।
खेलको ६८ औं मिनेटमा स्पर्स होएबिएररले गोल गर्दै टोटनहमलाई १–१ को बराबरीमा ल्याएका थिए। दोस्रो गोलपछि २ टोलीका प्रशिक्षकबीच भनाभन भएपछि खेल केहीबेर तनावग्रस्त भएको थियो। रेफ्रीले दुवै टोलीका प्रशिक्षकलाई पहेँलो कार्ड देखाएका थिए।
खेलको ७७ औं मिनेटमा चेल्सीका जेम्सगोल गर्दै टोलीलाई पुनः अग्रता दिलाएका थिए। तर इन्ज्युरी समयको अन्तिम मिनेटमा ह्यारी केनले गोल गर्दै टोलीलाई रोमाञ्चक बराबरी दिलाए।
खेल सकिएपछि दुई टोलीका प्रशिक्षकबीच भनाभन हुँदा रेफ्रीले दुवैलाई रातो कार्ड दिएका थिए।