काठमाडौँ - न्युजिल्यान्डले आइतबार राति वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला २-१ ले जितेको छ।
बार्बाडोसस्थित केनिङटन ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०१ रन बनाएको थियो। ३०२ रनको लक्ष्य न्युजिल्यान्डले ४७.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो।
योसँगै न्युजिल्यान्डले ३ खेलको एकदिवसीय शृंखला २-१ ले जितेको हो। पहिलो खेलमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको थियो। वर्षाले प्रभावित दोस्रो खेल न्युजिल्यान्डले डर्कवर्थ लुइज पद्धतिमा ५० रनले जितेको थियो।
वेस्ट इन्डिजका लागि अग्रपंक्तिका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरे पनि तल्लोक्रमले खेल्न सकेनन्। ओपनर काइल मेयर्सले १०५ रन बनाए। उनले ११० बलमा १२ चौका र ३ छक्का प्रहार गरेका थिए।
मायर्सले शाइ होपसँग पहिलो विकेटका लागि १७३ रनको साझेदारी गरेका थिए। होपले ५१ रन बनाएका थिए। कप्तान निकोलस पूरनले ९१ रन बनाए। उनले ५५ बलमा ४ चौका र ९ छक्का प्रहार गरेका थिए।
न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३ विकेट लिए। मिचेल सन्टनरले २ विकेट लिँदा टिम साउथी, लोकी फर्गुसन र जेम्स निसमले १/१ विकेट लिएका थिए।
३०२ रनको लक्ष्य पूरा गर्ने क्रममा न्युजिल्यान्डका कप्तान टम लाथमले सबैभन्दा धेरै ६९ रन बनाएका थिए। डारेल ब्रासवेलले ६३ रन बनाउँदा मार्टिन गुप्टिलले ५७ र डेभोन कोनवेले ५६ रन जोडेका थिए। निसम ३४ र ब्रासवेल १४ रनमा अविजित रहे।