प्रशिक्षक टेन हागले बिदा काटेर प्रशिक्षण गराए

काठमाडोँ - म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले क्लबका खेलाडीलाई आइतबार बिदाको दिन काटेर प्रशिक्षणमा निकै पेलाएका छन्।

यसै सिजनको सुरुवातमा क्लबमा आबद्ध भएका आयाक्सका पूर्व प्रशिक्षक टेन हाग हाल निकै दबाबमा छन्। लगातार २ हारबाट प्रिमियर लिगमा सुरुवात गरेपछि टोली अहिले अंक तालिकाको पुछारमा रहेको छ।

पहिलो खेलमा ब्राइटनसँग २-१ को हार व्यहोरेको टोली दोस्रो खेलमा ब्रेन्टफर्डसँग ४-० ले पराजित भएको थियो। शनिबार लज्जास्पद हार व्यहोरेपछि टेन हागले आइतबार विश्राम काटेर प्रशिक्षण गराएका थिए।

बेलायती संचारमाध्यमका अनुसार टेन हागले खेलको भोलिपल्ट नै खेलाडीलाई निकै कठिन प्रशिक्षण सेसन लिएका थिए। उनले सबै खेलाडीलाई झन्डै १४ किलोमिटर कुदाएका थिए। शनिबारको खेलमा ब्रेन्टफर्डका खेलाडी युनाइटेड भन्दा १३.८ किलोमिटर बढी कुदेका थिए। उक्त खेलपछि नै टेन हागले आफ्नो टोलीको प्रदर्शनमा असन्तुष्टि जनाएका थिए।

‘ब्रेन्टफर्डमा बढी भोक देखिएको थियो। हामीले व्यक्तिगत गल्तीका कारण नै गोल खान पुग्यौं। रणनीति बनाएपछि त्यसलाई प्रयोग नगर्नु राम्रो होइन,’ उनले भने, ‘खेलाडीले मैदानभित्र जिम्मेवारी लिएनन्। आफूमा विश्वास गरेर खेल भन्दा त्यो हुन सकेन।’

युनाइटेडले प्रिमियर लिगमा अब लिभरपुलको सामना गर्दैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×