काठमाडौँ - पहिलो टी-२० क्रिकेटमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग १३ रनले पराजित भएको छ। जमैकाको साविना पार्कमा आज बिहान सकिएको खेलमा न्युजिल्यान्डले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ७२ रन बनायो।
वेष्ट इन्डिजका लागि शामरन ब्रुरक्सले सर्वाधिक ४२ रन बनाए। यस्तै, रोमारियो सेफर्डले ३१, ओडन स्मिथले २७, जासन होल्डरले २५ तथा निकोलस पुरनले १५ रन बनाएका थिए। त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो।
न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ४७ रन जोडे भने डिभेन कन्वेले ४३ रन बनाएका थिए। जेम्स निसमले ३३ तथा ग्लेन फिलिप्सले १७ रन बनाएका थिए। यस्तै, ड्यारियल मिचेल र मार्टिन गप्टिलले समान १६-१६ रन बनाएका थिए। २ टोलीबीचको दोस्रो टी-२० खेल शनिबार हुनेछ।