काठमाडौँ - आर्थिक एवम् सामाजिक रुपमा पिछडिएका यो समुदायका लागि विराटनगर महानगरपालिकाले आवासगृह निर्माण गरेको छ।
महानगरपालिकाको आवास कार्यक्रमअन्तर्गत ह्याविटेट नामक संस्थाले सहयोग गरेर अहिले ती समुदायका ३२ परिवारका लागि आवासगृह निर्माण गरेको छ। एक परिवारका लागि दुई वटा सुत्ने कोठा, एउटा भान्सा घर र शौचालयसहितको व्यवस्थित घर ह्याविटेटले निर्माण गरिदिएको छ। विराटनगर महानगरपालिकाले सो बस्तीमा नाला, बाटो बनाइ खानेपानीका लागि ट्युबेलसमेत जडान गरेको छ। यही भौतिक संरचनामा ऋषिदेव परिवारको दिनचर्या चलिरहेको छ भने अहिले जाडोमा उनीहरुलाई न्यानो लुगा र पोषिलो खानेकुराको समेत अभाव देखिएको छ।
ती समुदायका ३२ परिवारका लागि दुई वटा मात्र ट्युबेल रहेका छन्। एउटा बिग्रिँदा खानेपानीको लागि निकै समस्या झेल्नु परेको ५९ वर्षीय फुलो ऋषिदेवले बताए। यो घर पनि हाम्रो लागि पर्याप्त छैन। फुलोको परिवारबाट दुई बालबालिका सामुदायिक विद्यालय जान्छन्। एउटा कक्षा पाँचमा र अर्को कक्षा सातमा पढ्दै छन्। कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण रोजगारी खोसिएपछि आर्थिक समस्या झेल्दै आएका नरेश ऋषिदेवले ठेला चलाएर परिवारको गुजारा गर्दैछन्। उनले भने, 'दैनिक रु. ४०० भन्दा बढी आम्दानी हुँदैन, के गर्नु, अर्को उपाय पनि छैन, त्यसैले कठिन जीवनयापन गर्न बाध्य भएको छौँ।'
परिवारको सङ्ख्या बढ्दा बरण्डामा रात बिताउनु परेको पीडा उनको छ।