हराएकी भनिएकी आमाको छोराले नै हत्या गरेको खुलासा

मोरङ– पथरी–शनिश्चरे नगरपालिका–२ का ४८ वर्षीय कमल श्रेष्ठ र उनका दाइ (नाम खुलाइएको छैन) ले आमा हराएको भन्दै माघ १४ गते प्रहरीमा निवेदन दिएका थिए । ९० वर्षीय आमा जगमाया श्रेष्ठको खोजतलास गरी दिन उनीहरूले प्रहरीसँग आग्रह गरेका थिए। तर हराएकी भनिएकी आमाको छोराले नै हत्या गरेको खुलेको छ। 

प्रहरीले खोजी गर्ने क्रममा स्थानीयसँग सोधपुछ गर्दा  स्थानीयले आमा र छोराबीच जग्गासम्बन्धी विवाद रहेको प्रहरीलाई बताए। सोही ‘सूचना’ का आधारमा कमलसँग केरकार गर्न थालेपछि उनले अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

कमलले माघ १२ गते बिहान आमालाई घाँटी थिचेर हत्या गरेको र त्यसपछि शवलाई नजिकैको सामुदायिक वन क्षेत्रमा जलाएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट जल्न बाँकी शरीरका केही भाग बरामद् गरेको छ। बरामद् शरीरका अंगलाई परीक्षणका लागि काठमाडौँ पठाइएको पनि श्रेष्ठले जानकारी दिए।

हत्याको मुख्य कारण जग्गा विवाद रहेको छ। बुवाको नाममा रहेको १५ कट्ठा ९ धुर जमिन उनको निधनपछि कमलले गुपचुप तरिकाबाट श्रीमतीको नाममा दर्ता गराइदिएका थिए। यो कुरा थाहा पाएपछि आमा जगमाया र दाइले मुद्दा दायर गरी दिए। अदालतले जगमायाको नाममा पाँच कट्ठा जमिन हुने फैसला गरी दियो। सोही कारणले कमलले आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×