महोत्तरी - महोत्तरीको बर्दिबास नगरपालिकामा अब नगरप्रमुखले प्रयोग गर्दै आएका सरकारी गाडी बिरामी बोक्ने ‘एबुलेन्स’ बन्ने भएको छ। नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बिहीबार पदभार ग्रहण गर्दै नगरपालिकाको सरकारी गाडी आफ्नो सवारीमा प्रयोग नगर्ने जानकारी दिए।
“यसअघि नगरप्रमुखले प्रयोग गर्दै आएको सरकारी गाडी अब विपन्न वर्गका असाहय, बिरामीलाई अस्पताल पु¥याउन प्रयोग गरिने छ”, उनले भने। आपूmले निजी सवारी नै प्रयोग गर्ने नगर प्रमुख क्षेत्रीको भनाइ छ। यस्तो सेवा पाउने बिरामी वडा समितिबाट विपन्न वा असहाय भएको सिफारिस भने भएको हुनपर्ने नगरपालिकाले जनाएको छ।
सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र समूह नै बनाएर प्रतिस्पर्धामा ओर्लनुभएका क्षेत्रीकै समूहबाट उपप्रमुख तारादेवी महतो र वडा नं १, ७, १३ र १४ मा वडाध्यक्षसमेत निर्वाचित भएका छन्। वडा नं १ बाट त अध्यक्ष तथा सदस्यसहित पाँचै स्वतन्त्र समूहका निर्वाचित भएका छन्।
नवनिर्वाचित प्रमुख क्षेत्रीले बर्दिबास अस्पतालको सेवालाई बढाउँदै प्रसूति सेवा प्रभावकारी बनाउने, गर्भवतीको नियमित स्वास्थ्य जाँच गराउने र अस्पतालमा सुत्केरी गराइँदा सरकारले दिँदै आएको यातायात खर्चमा थप रु १ हजार बढाएर उपलब्ध गराउने घोषणा पनि गरेका छन्। सरकारले हिमाली, पहाडी र तराई जिल्लामा बसोबास गर्ने महिलाका लागि अस्पतालमा सुत्केरी गराइँदा क्रमशः रु ३ हजार, २ हजार र १ हजार यातायात खर्च उपलब्ध गराउँदै आएको छ।