नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनले देशको राजनीतिक नेतृत्वलाई गहिरो आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका छन्। काठमाडौंमा बुधबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनले स्थापित राजनीतिक नेतृत्व, संघसंस्था तथा प्रतिनिधिहरूलाई आफ्नो भूमिका र जिम्मेवारी पुनः मूल्याङ्कन गर्न प्रश्न उठाएको उल्लेख गरे। “जेनजी आन्दोलनले एकातिर आत्मसमीक्षा गर्न उत्प्रेरित गर्यो भने अर्कोतिर नयाँ संकल्प गर्ने कि इतिहासको मञ्चबाट पन्छिने भन्ने गम्भीर प्रश्न खडा गरिदिएको छ,” उनले भने।
प्रचण्डले सबै राजनीतिक शक्ति र नेतृत्वले आ–आफ्ना कमजोरी कहाँ रहे, त्यसलाई कसरी सच्याउने भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए। जनता र राष्ट्रको आवश्यकता केन्द्रमा राखेर नयाँ प्रतिबद्धतासहित अघि बढ्ने वा अब आफ्नो औचित्य समाप्त भएको स्वीकार गर्दै पन्छिने समय आएको सन्दर्भमा उनले राजनीतिक नेतृत्वलाई स्पष्ट निर्णय लिनुपर्ने संकेत गरे।