काठमाडौँ - युएई, कतार, बहराइन र ओमानका विभिन्न हलहरूमा डिसेम्बर १ देखि नेपाली फिल्म ‘महापुरुष’ एकसाथ प्रदर्शनमा आएकाे छ। रोजगारीका लागि मध्यपूर्वमा रहेका नेपालीलाई लक्षित गरी मुख्य सहरका ५ दर्जन पर्दामा एकैसाथ प्रदर्शनमा ल्याइएकाे मध्यपूर्वका देशमा फिल्मका वितरक रमेश ढकालले बताएका छन्।
चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्लको मुख्य भूमिका रहेको छ। त्यसैगरी, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराइलीलगायतको पनि अभिनय छ।
षट्कोण आर्ट्स प्रालिको ब्यानरमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन्। षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रैजात्रा फिल्म निर्माण गरेको छ।
फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्रडी गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रूपमा डेब्यु गरेका छन्। फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य, शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपकप्रताप अधिकारी रहेका छन्।