काठमाडौँ - रिलिजअघि नै अत्यधिक चर्चा र प्रशंसा कमाएको चलचित्र ‘ऐना झ्यालको पुतली’ लाई हलमा स्थान पाउन भने सकस परेको छ। शुक्रबारबाट फिल्म रिलिज हुने भएपनि अहिलेसम्म मल्टिप्लेक्सहरूले शो टाइम नदिएको निर्देशक सुजित बिडारीले गुनासो गरेका छन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै बिडारीले आफ्नो गुनासो पोखेका हुन्। उनले चलचित्रलाई सबैले दिएको माया र हौसलाप्रति आभार प्रकट गरेका छन्। तर, भावनात्मक कुराले मात्रै सिनेमा नचल्ने भन्दै दर्शकसम्म पुग्न भने कठिनाइ भइरहेको बताएका छन्।
बिडारीका अनुसार एउटा हिन्दी फिल्मको सेन्सर नहुँदा ‘ऐना झ्यालको पुतली’ ले शो टाइम पाउन नसकेको हो। ‘कुन हलमा कुन टाइममा जाउँ भनेर सोधिरहेका साथीभाइहरूलाई जवाफ दिन सकिरहेका छैनौं,’ उनले भनेका छन्।
यस चलचित्रको अहिलेसम्म एउटा शोमात्रै तय भएको छ। चाबहिलको एफक्यूवमा शुक्रबार दिउँसो १२:१५ को। भोलि सार्वजनिक बिदा पनि भएकाले यदि हलहरूमा राम्रो स्थान पाए यस चलचित्रले उच्च व्यापार गर्ने अपेक्षा गरिएको छ।