काठमाडौँ - चिलीले इक्वेडरको कतार विश्वकप २०२२ सहभागिता रद्दका लागि फिफासमक्ष पुनः अपील गर्ने भएको छ। चिलीले यसअघि पनि इक्वेडरले विश्वकप छनोटमा गैर-नागरिक खेलाएकाले उनीहरूको छनोट बदर हुनुपर्ने भन्दै अपील गरेको थियो।
जसलाई गत महिना फिफाले खारेज गर्दै इक्वेडरलाई विश्वकप खेल्ने बाटो खोलिदिएको थियो। चिलीले इक्वेडरका डिफेन्डर बेरोन कास्टिलो गैर-नागरिक भएको दाबी गर्दै आएको छ। चिली फुटबल संघ (एएनपिए) ले कास्टिलो इक्वेडरमा नभई कोलम्बियामा जन्मिएको दाबी गरेको छ।
उनले इक्वेडरबाट विश्वकप छनोटको आठ खेल खेलका थिए, जसमा चीलीविरुद्धको २ खेल पनि सामेल छ।
इक्वेडरले फिफा विश्वकप दक्षिण अमेरिकी छनोटको चौथो स्थानमा रहँदै कतार विश्वकपमा स्थान बनाएको छ। सातौँ स्थानमा रहेको चिलीले भने विश्वकप छनोटको प्लेअफमा पनि स्थान बनाउन सकेन।
इक्वेडर आगामी २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म हुने फिफा विश्वकपमा आयोजक कतार, सेनगल र नेदरल्याड्ण्ससँगै समूह ‘ए’ मा रहेको छ।