काठमाडौँ - परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेडा खेती गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन देखिएको छ।
गोलभेडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी लघुवा यतिबेला व्यावसायिक गोलभेडा खेतीका लागि प्रख्यात बनेका छन्। यहाँका महिला किसानले व्यावसायिक रूपमा गोडभेडा खेतीमा आकर्षित भएका छन्। टनेलभित्र गोलभेडा उत्पादन गर्दा राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसको व्यावसायिक खेतीमा लागेका हुन्। यसले महिला आत्मनिर्भर बन्दै गएका छन्।
पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवाकी गङ्गा कुँवरले एक वर्षअघि कुँवर पशुपालन तथा कृषि फर्म गाउँपालिकाको कृषि शाखामा दर्ता गराए। व्यावसायिक कृषि कर्म गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएको फर्ममार्फत उनले आठवटा टनेलमा गोडभेडा उत्पादन गरेकी छन्। रु. आठ लाखको लगानीमा सञ्चालनमा ल्याएको टनेलभित्र बेमौसमी तरकारी उत्पादन गर्न सजिलो भएको उनको भनाइ छ। गोलभेँडा खेतीबाट मासिक रु. ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको उनले बताए। दसैँपछि नियमित रूपमा आम्दानी भएको कुँवरको भनाइ छ। टनेलभित्र उत्पादित तरकारीमा रोग, कीरा तथा पानीबाट सुरक्षित राख्दा उत्पादन बढी हुने गरेका छन्।
एक पटक टनेल निर्माण गरेपछि पटक–पटक तरकारी खेतीका लागि संरचना निर्माण गर्नुपर्ने झन्झटसमेत हटेको छ। खुल्ला आकाशमुनि गोलभेँडा खेती गर्ने किसान अहिले टनेलभित्र उत्पादन गर्न थालेपछि असिनापानी तथा शीतबाट जोगाउन सजिलो भएको बताइएको छ। टनेलभित्रको जमिनमा प्लास्टिक विछ्यएकाले झार गोडिरहनुपर्ने समस्या छैन।
चिसो तथा पानीबाट जोखिएपछि लामो समय गोडभेँडाले उत्पादन हुने गरेको अर्का किसान शर्मिला कुँवरको भनाइ छ।