काठमाडौँ - जगदीश घिमिरेद्वारा लिखित कथा ‘साबिती’मा आधारित भएर थिएटर भिलेजले नाटक मञ्चन गर्ने भएको छ। असार १७ देखि १९ गतेसम्म शिल्पी थिएटरमा नाटक मञ्चन हुन लागेको हो।
यसअघि केही नेपाली नाटकमा समेत अभिनय गरिसकेकी भारतीय रंगकर्मी अनुराधा मजुमदार ‘साबिती’को लागि काठमाडौंमा छिन्। उनी अहिले नाटकको रिहर्सलमा व्यस्त रहेकी छिन्। यसअघि खुमा र बाँकी उज्यालो नाटकमा समेत अभिनय गरेकी उनी सौगात मल्ल र दयाहाङकी अभिनय गुरुआमा पनि मानिन्छिन्। नाटक पुनः मञ्चन हुन लागेको हो।
१० वर्षअघि मञ्चन हुँदाहुँदै प्रमुख अभिनेता सुनिल पोखरेल बिरामी भएपछि त्यतिबेला नाटक रोकिएको थियो। नाटक साबिती यसअघि भारतको दिल्ली र जम्मुमा आयोजना भएका अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन भइसकेको छ।
‘मुख्य महिला पात्रको दृष्टिकोणमार्फत नाटक प्रस्तुत गर्न लागेका हौं,निर्देशक विमल सुवेदीले भने, ‘यसले भ्रष्ट समाजको ढोंगीपनलाई प्रस्तुत गर्छ।’ नाट्य रुपान्तरण निर्देशक सुवेदी र सुरज सुवेदीले गरेका हुन्।
अनुराधासँगै नाटकमा सुजन वली र साजनकुमार सुनुवारको पनि मुख्य भूमिका रहेको छ। नाटकका सहायक निर्देशक जेनिश सुनुवार छन् भने दिलीप रानाभाट प्रोडक्सन डिजाइनर हुन्।