काठमाडौँ - वरिष्ठ पर्यटन व्यवसायी एवं यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको स्मृतिमा ‘आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिता’ आयोजना हुने भएको छ।
यती एअरलाइन्स तथा तारा एअरलाइन्सको आयोजनामा स्वर्गीय शेर्पाको तेस्रो वार्षिक स्मृति दिवसको अवसरमा दोस्रोपटक आगामी मार्च ११ र १२ (फागुन २७ र २८) गते गोकर्ण फरेष्ट रिसोर्टमा गल्फ प्रतियोगिता हुन लागेको हो।
शेर्पाको तेस्रो स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १८० खेलाडीले भाग लिने यती एअरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए। “पर्यटन व्यवसायी शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ, उहाँ आफै पनि एक कुशल गल्फ खेलाडी हुनुहुन्थ्यो,” उनले भने।
गतवर्ष फागुन २१ र २२ गते पहिलो गल्फ प्रतियोगिता भएको थियो। प्रत्येक वर्ष आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ टुर्नामेन्ट हुने यसअघि नै यती एअरलाइन्सले घोषणा गरिसकेको छ। उक्त प्रतियोगितामा रजिस्ट्रेशन शुल्कमार्फत् सङ्कलन भएको रकम सोही समय मै गैरनाफामुखी एवं समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एअरलाइन्सले घोषणा गरेको छ।
प्रतियोगितामा बिजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिला तर्फको बिजेता र रनरअप, भेट्रान तर्फका बिजेता, जुनियर तर्फका बिजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै हेलिकप्टर राइडसँग रु तीन लाख धनराशी बराबरको ट्राभल प्याकेज जित्नेछ। अन्य विजेताले यती गु्रपकै सञ्चालमा रहेको विभिन्न कम्पनी तथा रिसोर्ट तथा निकटका संस्थाले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन्।
उक्त प्रतियोगितामा यती एअरलाइन्स, तारा एअर, हिमालय एअरलाइन्स, एल्टिच्युट एअर, यती माउन्टेन होम, मोक्ष मुस्ताङ रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, गुण एअरलाइन्स, कसरा रिसोर्ट र केर एण्ड डाउनी जस्ता प्रायोजक पार्टनर रहेका छन्।
नेपालको पर्यटन विकास, प्रवद्र्धन तथा हवाई क्षेत्रको विकासमा निकै महत्वपूर्ण योगदान दिएका शेर्पाको यस क्षेत्रमा छुट्टै पहिचान छ। यती समूहका प्रबन्ध निर्देशक शेर्पाको विसं २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेर तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहितका टोलीमा निधन भएको थियो।