काठमाडौँ - नेपोलीले लगातार ११ खेलमा विजय हासिल गर्नेक्रममा आइतबार राति इटालियन सिरी ‘ए’मा एएस रोमालाई १-० ले हराएको छ। जितसँगै लुसियानो स्पालेट्टीको नेपोलीले शीर्ष स्थानमा ३ अंकको अग्रता लिएको छ।
रोमा भ्रमणमा निस्केको नेपोलीको जितमा खेल सकिन १० मिनेट बाँकी हुँदा भिक्टोर ओसिमहेले गरेको गोल निर्णायक बन्यो। उनले माटेयो पोलिटानोको पासलाई भलीमार्फत पोष्टको दिशा दिएका थिए। ओसिमहेले गतसाता बोलोग्नालाई ३-२ ले हराउँदा पनि निर्णायक गोल गरेका थिए।
यससँगै नेपोलीले सबैलाखे प्रतियोगितामा गरी लगातार ११ खेलमा विजय हासिल गर्न सफल भएको छ। जुन क्लबको इतिहासलमा १९२९/३० पछि दोस्रो पटक हो। जारी सिजन नेपोली अपराजित रहेको छ। नेपोलीले जारी सिजन १५ मध्ये २ खेल बराबरी खेलेको छ भने बाँकी खेलमा विजय हासिल गरेको छ।
जितपछि नेपोली २९ अंकका साथ शीर्ष स्थानमा रहेको छ। जुन दोस्रो स्थानमा रहेको साविक विजेता एसी मिलानभन्दा तीन अंकले माथि हो। पराजित रोमा २२ अंकका साथ पाँचौँ स्थानमा रहेको छ।