काठमाडौँ - प्रदीप खड्का र अभिलाषा विष्टले दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा एकल उपाधि जितेका छन्। सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार पुरुष फाइनलमा नेपालका नम्बर १ खेलाडी प्रदीपले ऋतिक रानालाई ६-४, ६-४ ले पराजित गर्दै उपाधि जितेका हुन्। प्रदीप नवौं राष्ट्रिय खेलकुदका स्वर्णविजेता हुन्। निशान श्रेष्ठ र प्रणव खनाल संयुक्त तेस्रो स्थानमा रहे।
महिलातर्फ अभिलाषाले सुनिरा थापालाई ६-२, ७-६ ले हराइन्। महिलातर्फ आइसा डोल्कर गुरुङ र सर्भांनी श्रेष्ठ संयुक्त तेस्रो भए। महिला र पुरुष एकल विजेताले ८० हजार, उपविजेताले ४० र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाएका थिए।
पुरुष डबल्सको उपाधि ऋतिक र निशानको जोडीले जिते। उनीहरूले प्रदीप र प्रणवको जोडी हराए। सक्षमविक्रम शाह र राजवीर प्रधान तथा केशव गौचन र सौरभ पन्तको जोडी तेस्रो भएका थिए।
पुरुष ३५ वर्षमाथिको एकल उपाधि कमलबहादुर भण्डारीले जितेका छन्। उनले जितेन्द्र परियारलाई हराए। सन्तोष खत्री र सीमान्त गुरुङ तेस्रो भएका छन्। ४५ वर्षमाथि उपाधि महेश श्रेष्ठले उपाधि जिते। विमलकुमार गुरुङ दोस्रो तथा रोहित सुनुवार र मनोजविक्रम शाह तेस्रो भए।
५५ वर्षमाथिको उपाधि विमलकुमार गुरुङले हात पारे। उनले उत्तमकुमार लामालाई हराए। जीवन घिमिरे र नीराजन श्रेष्ठ संयुक्त तेस्रो भए। ६५ वर्षमाथिको उपाधि विदुर विष्टले जिते । ज्ञानेन्द्रमान ताम्राकार दोस्रो र हर्कबहादुर गुरुङ तेस्रो भए।
३५ वर्षमाथि पुरुष डबल्समा भण्डारी जोडी कमल र यज्ञले उपाधि जितेका छन्। सन्तोष खत्री र सीमान्त गुरुङको जोडी दोस्रो भयो। राजु क्षेत्री र ईश्वर जिसी तथा नरेशबहादुर र विनयमान तुलाधरको जोडी तेस्रो भए।
पुरुष ४५ वर्षमाथि डबल्स उपाधि डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले हात पार्यो। सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडी दोस्रो भयो। ५५ वर्षमाथि पुरुष डबल्स उपाधि कृष्ण घले र सुवर्ण धाख्वाको जोडीले जित्यो।
यू-८ गर्ल्सको उपाधि सारा पन्तले थिया श्रेष्ठलाई हराएर जितिन्। निम्ति कुँवर र प्रकृति ज्ञवाली तेस्रो भए। यू-८ ब्वाइजको उपाधि आर्यशराज पौडेलले सभ्यजंग कार्कीलाई हराएर जिते। यू-९ ब्वाइजको उपाधि आर्यशले नै जिते।
यू-९ गर्ल्सको उपाधि अनुश्री धोजुले जितिन्। जेनिशा ज्ञवाली दोस्रो भइन्। यू-१० को ब्वाइजतर्फ सुजन कुइँकेलले उपाधि जित्दा युभेनमान श्रेष्ठलाई हराएका थिए। यू-१० गर्ल्समा साल्भी शेरचनले मेरिसा थापालाई हराएर उपाधि जितिन्।
यू-१२ गर्ल्समा शिभाली गुरुङ पहिलो र स्वस्तिका विष्ट दोस्रो भए। यू-१२ ब्वाइजको उपाधि वृजेश अर्यालले जित्दा असभ हाडा दोस्रो भए। यू-१४ गर्ल्सको उपाधि सुनिरा थापाले जित्दा सिभाली गुरुङ दोस्रो भइन्। सोही विधामा ब्वाइजतर्फ आयुषमान हजुर घलेले बोरिस अधिकारीलाई हराएर उपाधि जिते।
जुनियरबाहेक सबै इभेन्टका विजेता खेलाडीले नगद पुरस्कार पाएका थिए। वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको प्रतियोगितामा २३ इभेन्टमा प्रतिस्पर्धा भएको थियो।
विजेता खेलाडीलाई नेपाली कांग्रेसका नेतृ सिर्जना सिंह, नेपाल लनटेनिस संघका अध्यक्ष ज्योति राणा, प्रतियोगिता संयोजक भाष्करमान सिंह, आयोजक संयोजक सन्जिव तुलाधर, कमिटीका सल्लाहकार राजीव श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए।