काठमाडौँ - ‘कबड्डी ४’को व्यापारले दर्शकलाई नेपाली फिल्ममा फर्काउने अपेक्षा थियो तर त्यसयताका नेपाली हुन् वा विदेशी कुनै पनि फिल्मले गतिलो व्यापार गर्न सकेका छैनन्। फिल्म शुक्रबार रिलिज हुने र फाट्टफुट्ट दर्शकसँग हलबाट उत्रिने शृंखला जारी रहेको छ।
जेठ १३ मा रिलिज भएको ‘कबड्डी ४’ ले काठमाडौँका केही हलमा ५१ दिनसम्म चलेको रेकर्ड राख्दै कमाइमा पनि कीर्तिमान कायम गरेको थियो। तर ‘कबड्डी ४’को यो व्यापारले दर्शक ल्याएको त देखियो तर यसबाट न बजार तरंगित भयो न बाँकी फिल्मकर्मी। कुनै समय ‘लुट’ ‘छक्का पञ्जा’ले भने यसरी नै व्यापार गर्दा नेपाली फिल्म उद्योगमा राम्रै हलचल आएको थियो।
एउटा राम्रो फिल्म चल्दैमा, अर्को ठीकै वा नराम्रो फिल्मको व्यापारलाई सघाउ पुग्छ भन्ने भन्ने होइन। तर २३ करोड कमाउने गरी ‘कबड्डी ४’ले व्यापार गर्दा यसपछि रिलिज हुने फिल्मले यसको केही फाइदा त हुन्थ्यो होला नै तर हलमा यसपछि रिलिज भएका फिल्मले शुक्रबारदेखि नै दर्शक देख्न मुस्किल पर्यो।
‘कबड्डी ४’ पछि रिलिज भएको ‘चिसो मान्छे’ले पनि राम्रो व्यापार गर्ने धेरैको अपेक्षा थियो। तर पहिलो दिन औसत दर्शक पाएको फिल्म त्यसपछिका दिनमा भने दर्शकविहीन रह्यो। यो फिल्म असार ३ मा हलमा लागेको थियो।
‘कबड्डी ४’को क्रेजले केही न केही त फाइदा हुने लोभमा ‘घनचक्कर’ निर्माताले यो फिल्म असार १०मा रिलिज गर्ने निर्णय गरे। तर सौगात मल्लको मुख्य भूमिका रहेको फिल्मको व्यापारले निर्मातालाई नै चक्कर लाग्यो।
यसपछि रिलिज भएको ‘दोख’ होस् वा ‘सम्झना बिर्सना’ वा ‘सिल्ली फो’ कुनै पनि फिल्मले दर्शक टिकाउन सकेनन्। ‘सम्झना बिर्सना’ निर्माताले भारतमा गएर फिल्मले २ करोड व्यापार गरेको अन्तर्वाता दिएका थिए। तर यता भने निर्माता २० लाख लिएर पनि पूजा शर्माले प्रचारमा सहयोग नगरेको भन्दै गुनासो गरिरहेका थिए।
शुक्रबार रिलिज भएको ‘पानीफोटो’ले पनि उत्साहजनक व्यापार गर्ने संकेत देखाएको छैन। हलमा एक्लै रिलिज भएको फिल्म हेर्न दर्शक पनि एक्लै एक्लै परेको तस्बिरहरु सार्वजनिक भइरहेका छन् भने आइतबारसम्म आइपुग्दा फिल्मको सो पनि उल्लेख्य संख्यामा घटेको छ।
त्यसो त २ दिनअघि रिलिज भएका हिन्दी र दक्षिणभारतीय फिल्ममा पनि दर्शकको खडेरी नै छ। भदौ, असोज र कात्तिकमा ठूलो लगानीका थुप्रै नेपाली फिल्म रिलिज हुँदैछन्। यी फिल्मको व्यापारले निर्मातामा उत्साह थप्ने धेरैको अपेक्षा छ।