काठमाडौँ - प्रसिद्ध कृष्णाले जुन ६ बाट सुरु हुने रणजी ट्रफीको क्वार्टरफाइनल नखेल्ने भएका छन्। गत वर्ष कोरोनाका कारण हुन नसकेको इङ्गल्याण्डसँगको एकमात्र टेस्टका लागि कृष्णा छनोट भएका थिए। त्यसै टेस्टका लागि जुनको दोस्रो साता उनी टोलीसँग इङ्गल्याण्ड प्रस्थान गर्दैछन्।
यता, कर्नाटकले आफ्नो टोली घोषणा गरेको छ। जसमा, मयंक अग्रवालले पुनारागमन गरेका छन्। मयंक सन् २०१८ मा भारतका लागि टेस्ट डेब्यू गरेपछि पहिलो पटक राष्ट्रिय टोलीबाट बाहिरिएका छन्।
कर्णाटकको टोलीमा देवदत्त पडिक्कल र करुण नायर पनि रहेका छन्। मनिष पाण्डेले टोलीको नेतृत्व गर्नेछन्। केएल राहुलले दक्षिण अफ्रिकाविरुद्ध जुन ९ देखि सुरु हुने टी–२० आई सिरिजमा भारतीय टोलीको नेतृत्व गर्ने भएकाले उनी पनि कर्नाटकका लागि उपलब्ध नहुने भएका छन्।
कर्नाटकले जुन ६ देखि अल्लुरमा उत्तर प्रदेशसँग सामना गर्नु पर्नेछ। कोरोनाका कारण यस वर्ष रणजी ट्रफी दुई चरणमा आयोजना गरिएको थियो।
लिग चरणमा प्रत्येक टोलीले जम्मा तीन खेल खेलेका छन्। कर्नाटक तीन खेलमा दुई जित हात पार्दै समूहको पहिलो स्थानमा रहेको छ।