सर्वोच्च अदालतको परमादेशपछि हितेन्द्रदेव शाक्य पुनः नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक (एमडी)का रूपमा पदबहाली भएका छन्। बुधबार प्राधिकरण कार्यालय पुगेपछि उनले औपचारिक रूपमा जिम्मेवारी सम्हाले।
पदभार ग्रहण गरेसँगै शाक्यले पहिलो निर्णयका रूपमा दुहबी सबस्टेसनका लागि आवश्यक ‘स्पेयर पार्ट्स’ खरिद प्रक्रिया अघि बढाउने अनुमोदन गरे। उनका अनुसार यो सबस्टेसन अत्यन्त संवेदनशील र प्राथमिकतामा पर्ने भएकाले ढिला नगरी काम अघि बढाउनु आवश्यक छ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले आफूले भोग्नुपरेको कानुनी जटिलता कुनै व्यक्तिगत कारणले नभई, प्राधिकरणको एमडी पदमै रहेकाले भएको दाबी गरे। “अढाइ महिनाको चुनौतीपूर्ण समयपछि अदालतले दिएको न्यायसँगै फर्किएको हुँ,” उनले भने।
शाक्यले अबको कार्यकालमा अघि भन्दा बढी ऊर्जा, प्रतिबद्धता र इमानदारिताका साथ काम गर्ने प्रतिज्ञा व्यक्त गरे। “सरकारका नीति–निर्देशन र प्राधिकरणको हितलाई सर्वोच्च प्राथमिकता दिन्छु,” उनले जोड दिए।
विगतमा केही कमजोरी रहे पनि ती सच्याएर आगामी साढे तीन वर्षभित्र निश्चित लक्ष्य हासिल गर्ने योजनामा आफू रहेको शाक्यले बताए।
ऊर्जा मन्त्रीसँग सहकार्य कस्तो रहने भन्ने प्रश्नमा उनले दुवैजनाको प्राधिकरणकै पृष्ठभूमि भएकाले काम गर्न सहज हुने विश्वास व्यक्त गरे। साथै, प्राधिकरण कम्पनी मोडलमा मात्र होइन, आफ्नै उत्पादन आयोजना अघि बढाउनुपर्छ भन्ने सोचमा नेतृत्वबीच मेल रहेको पनि उनले बताए।