काठमाडौँ - विभिन्न कालखण्डमा नेपालका लागि कीर्तिमानी प्रदर्शन गरेका ७ जना खेलाडीलाई बिहीबार सर्वकालीन खेलाडीको सम्मान प्रदान गरिएको छ।
सुदीप मिडिया एण्ड इभेन्ट्स प्रालिले सञ्चालन गरेको हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकउत्सवको अवसरमा सातजना खेलाडीलाई जनही नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो।
पहिलो अन्तर्राष्ट्रिय पदक विजेता ओलम्पियन जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुदमा म्याराथनतर्फ ३ पटक स्वर्ण जितेका कीर्तिमानी बैकुण्ठ मानन्धर, खेलाडी र प्रशिक्षकका रुपमा दक्षिण एसियाली खेलकुद (साग) फुटबलको उपाधि विजेता राजुकाजी शाक्य सम्मानित भएका हुन्।
त्यस्तै पहिलोपल्ट छनोट प्रतियोगिता पार गरी ओलम्पिक खेल्ने संगीना बैद्य, ओलम्पिकमा छनोट पार गरेका तथा सागमा कीर्तिमानी चारपल्ट स्वर्ण जितेका दीपक विष्ट, नेपाललाई टी-२० विश्वकपमा छनोट गराउने टिमका कप्तान पारस खड्का र सागका एकै प्रतियोगितामा सर्वाधिक ४ स्वर्ण जित्ने गौरिका सिंहलाई सम्मान गरिएको हो।