काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा सरकारको भूमिकाअनुसार आफूहरू प्रस्तुत हुने बताएका छन् ।
अनेरास्ववियू महिला विभागले गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न काभ्रेमा पुगेका उपाध्यक्ष पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राखेका आफ्नो सरोकार सम्बोधन नभएकाले सर्वदलीय बैठकमा सहभागी नभएको पनि बताए ।
‘सरकारले के गर्छ ? सरकारको बिजनेस के हो ? भन्नेमा आफ्नो पोजिसन प्रस्तुत गर्नुप¥यो नि ? गठबन्धनले के धारणा बनाउँछन् ? हामी त प्रमुख प्रतिपक्षी हो, सरकारले एमसीसीमा आफ्नो प्रक्रिया कसरी चाल्छ, चालोस् न,’ उनले भने, ‘सरकार कुन रूपमा प्रस्तुत हुन्छ । सरकार कुन रूपमा प्रस्तुत हुन्छ, त्यसको आधारमा हामी प्रस्तुत हुन्छौं ।’ राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
सरकारसँग बहुमत रहेको भन्दै उनले हिम्मत भए संसद्मा प्रस्तुत गर्न चुनौती दिए । यस्तै अर्को सन्दर्भमा नेता पोखरेलले सभामुखले निष्पक्ष भूमिका नखेलेको, पार्टीले कारबाही गरेका व्यक्ति सांसदकै रूपमा रहेको विषयमा प्रधानमन्त्रीसमक्ष राखिएको सरोकार सम्बोधन नभएकाले सर्वदलीय बैठकमा सहभागी नभएको तर्क गरे ।
आफ्नो सरोकारमा प्रधानमन्त्रीको धारणासमेत उनले माग गरे । तीन दिने आवासीय प्रशिक्षणमा एमाले नेता भानुभक्त ढकाल, गोकुल बास्कोटा, बिन्दा पाण्डे, माधव ढुंगेललगायतले प्रशिक्षण दिएका थिए ।