काठमाडौँ - नदी निकटका तीर्थस्थलको संसारभरि प्रसिद्धि सुनिन्छ। मुलुककै कैयन नदी काखका तीर्थस्थलको देशदेशभरमा चर्चा हुन्छ। तर महोत्तरीको प्राचीन श्रीसिद्धनाथ महादेव मन्दिर नदीकै कारण अस्तित्वको सङ्कट झेल्दैछ।
अहिले भङ्गाहा नगरपालिका–५ सिद्धपुरमा पर्ने रातु र बडहरि नदीको सङ्गममा रहेको यो अति प्राचीन शिवालय रेखदेख र सम्भार नपाएर अस्तित्वकै सङ्कटको स्थितिमा पुगेको हो। धेरैअघि वरपर घना वनजङ्गल छँदै दूधारीबाबा भनिने एक सन्तले सपनामा पाएको निर्देशनअनुसार श्रीसिद्धनाथ महादेवको शिवलिङ्ग पत्ता लगाएर पूजाआराधना सुरु गराएको मानिन्छ।
करिब ५०० वर्षअघि पत्ता लागेको मानिने हिन्दू आस्थाको केन्द्र प्राचीन यो धार्मिकस्थल अब रेखदेख र सम्भार नपाएर बगर बन्दै गरेको यस भेगका सर्वसाधारण बताउँछन्। “यो प्राचीन धार्मिक धरोहर अब भावी पुस्ताले हेर्न पाउने छाँट छैन, वर्षेनि मन्दिर परिसर बगर बन्दैछ, हेर्ने कोही छन् भन्ने देखिदैन”, भङ्गाहा–५ सीतापुरका बासिन्दा नेपाल सरकारको सहसचिव सेवाबाट निवृत्त रामबहादुर भुजेल भन्छन्, “मन्दिर परिसरप्रति सम्बद्धपक्षको उपेक्षाले यो खण्डहर बन्ने देखिन्छ।” स्थानीयतह, जिल्ला समन्वय समिति, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, प्रदेश सरकार र सङ्घीय सरकार कसैको यो ठाउँमा आँखा नपुगेको भुजेलको थप गुनासो छ।
वर्षेनि महाशिवरात्री र साउने सोमबारे मेला लाग्ने यो मन्दिरमा दर्शन गरेपछि चर्मरोग निको हुने जनविश्वास छ। चर्मरोगले दुःख दिएका पीडित यहाँ आएर दर्शन गर्ने र भाकल गर्ने गर्छन्। रोग निको हुन भाण्टाको भार चढाउने भाकल यहाँको परम्परा रहेको हुँदा महाशिवरात्रीमा भाकल दिनेको भीड निकै लाग्ने गर्छ। महोत्तरी मात्र नभएर आसपासका जिल्ला र छिमेकको भारतबाट पनि श्रद्धालु भक्तजन बाक्लै आउने यो मन्दिरको संरक्षण र सम्भारमा मुख्यत स्थानीय तहले पहलकदमी लिनुपर्ने सिद्धपुरका स्थानीयवासी बताउँछन्।
“पहिलो चासो त हाम्रै नगरपालिकाले लिनुपर्ने हो, तर खै वास्ता दिएको देखिन्न”, सिद्धपुरका निरेखन सादा भन्नुहुन्छ, “महाशिवरात्री मेलाको ठेक्का लाग्ने बेला चहलपहल गरेको देखिन्छ, त्यसपछि श्रीसिद्धनाथलाई फर्केर हेर्ने कोही देखिएनन्।” वर्षेनि लाग्ने महाशिवरात्री मेलाको ठेक्का रकममात्रै पनि मन्दिर परिसरले संरक्षणमा नपाएको निरेखनको गुनासो छ। “मेलाका बेला ठेक्का रकममा चलखेल गर्न हल्लीखल्ली गर्छन्”, सादा भन्नुहुन्छ, “त्यसपछि वर्ष दिन फेरि कसैले यो ठाउँ सम्झदैनन्।”
पाँच-सात वर्षअघि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले एउटा सानो धर्मशाला निर्माण र राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिको जनकपुर कार्यालयले एक पटक बडहरी नदीमा एक ठाउँ छड्के बाँध्नेबाहेक त्यसयता यहाँ कोही फर्केर नआएका सिद्धपुरवासीको गुनासो छ।