काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ।
अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले बिहीबार सर्वोच्चमा रिट दर्ता गरेका हुन्।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ। तर गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउन्टेन्ट (सीए) मात्र रहेको र त्यो स्नातकोत्तर वा सो सरह नभएको रिट निवेदकको दाबी रहेको छ। रिटमा मन्त्रिपरिषद, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइएको छ।
अदालतले रिटको पेसी भोलि शुक्रबारका लागि तोकिएको छ। गभर्नर अधिकारीले आवेदन दिँदा बुझाएको बायोडाटामा पनि स्नातकोत्तरबारे केही उल्लेख नगरेकाले गभर्नरका लागि उनको शैक्षिक योग्यता नपुगेको प्रमाणित भएको रिटमा जिकिर गरिएको छ । अयोग्य व्यक्तिलाई पदमा राखिरहँदा राष्ट्रलाई अपूरणीय क्षति पुग्ने भन्दै तत्काल पदबाट हटाउन अन्तरिम आदेश माग गरिएको छ।
अधिकारी २०७६ चैत २४ गते गभर्नरमा नियुक्त भएका थिए। कार्यसम्पादन कमजोर रहेको भन्दै यसअघि सरकारले पदबाट हटाए पनि सर्वोच्चले उनलाई नहटाउन आदेश दिएको थियो ।