काठमाडौँ - यूएईमा जारी एसिया कप क्रिकेटको सुपर चारको समीकरण पूरा भएको छ। पाकिस्तान र हङकङको खेल भएसँगै सुपर चारको समीकरण पूरा भएको हो।
शारजाह क्रिकेट मैदानमा शुक्रबार हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान सुपर चारमा पुगेको हो। पाकिस्तानले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको हङकङ १० ओभर ४ बलमा ३८ रन जोड्दा अलआउट भएको थियो।
हङकङका लागि कप्तान निजाकट खानले सर्वाधिक ८ रन बनाएका थिए। किन्चित शाहले ६ रन जोड्दा स्कटले ४ रन जोडेका थिए। पाकिस्तानका लागि शादब खानले ४ विकेट लिए। मोहमद नवाजले ३ विकेट लिंदा नासिम शाहले २ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभर २ विकेट गुएर १ सय ९३ रन बनाएको थियो। मोहम्मद रिजवानले अविजित रहँदै ७८ तथा फकर जमानले ५३ रन बनाएका थिए।
यस जितसँगै समूह एबाट पाकिस्तानले सुपर चारमा स्थान बनाएको हो। यस समूहबाट भारत दुवै खेल जितेर शीर्ष स्थानमा रहँदै सुपर चारमा पुगेको थियो। पाकिस्तान २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। अंकविहीन हङकङ भने बाहिरिएको छ।
समूह बी बाट अफगानिस्तान र श्रीलंका सुपर चारमा पुगेका छन्। बंगलादेश बाहिरिएको छ।
आज बेलुकी अफगानिस्तान र श्रीलंका खेल्नेछन्। भोलि भारत र पाकिस्तान खेल्नेछन्। समूह चरणमा भारतले पाकिस्तानलाई हराएको थियो।