तुलसीपुर - तुलसीपुर उपमहानगरपालिकाको तीन कार्यपालिका सदस्यको पद रिक्त भएको छ। निर्वाचन आयोगले सोमबार नेकपा (एमाले)लाई पत्र लेख्दै तीन कार्यपालिका सदस्यले दल त्याग गरेकाले उनीहरूको पद रिक्त भएको जनाएको छ।
कार्यपालिका सदस्य डिला परियार, जानका रेग्मी (डाँगी) र दीपक कुमालले एमाले परित्याग गरेकाले पद रिक्त भएको जनाएको हो। उनीहरूले तीनै जना नेकपा (एकीकृत समाजवादी) पार्टी आवद्ध भएका छन्। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) बमोजिम दल त्याग गरेको भन्दै उनीहरूको पद स्वतः रिक्त भएको निर्वाचन आयोगका शाखा अधिकृत नवराज विष्टले बताए।
उनीहरूमध्ये कुमालले पार्टी फुट्नेबित्तिकै एकीकृत समाजवादीमा आवद्ध भएका थिए। उनी हाल सो पार्टीका तुलसीपुर नगर सदस्य छन्। रेग्मी एमालेको जिल्ला सदस्यमा निर्वाचित भएको हप्ता दिन नबित्दै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।