काठमाडौँ - काठमाडौँ महानगरपालिकाले काठमाडौँका सिनेमा हलहरूलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका चलचित्र हललाई मनोरञ्जन कर तिरेर नवीकरण गरेर मात्रै सञ्चालन गर्न महानगरले सूचना जारी गरेको हो।
महानगरले सूचना जारी गर्दै यस क्षेत्रभित्र रहेका फिल्म घर, क्यासिनो, भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब, सांस्कृतिक प्रदर्शन हल, थिएटर, नाटक घर, फनपार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एण्ड स्पा, स्वीमिङ पुल र पार्कलाई कर तिर्न भनेको हो।
राजस्व विभागमा मनोरञ्जन कर बुझाएको प्रमाण जाँच गरी मात्र व्यवसाय दर्ता र नवीकरण गर्न समेत महानगरले आग्रह गरेको छ। काठमाडौँ महानगरभित्र सञ्चालित फिल्म हललाई यसअघि पनि महानगरले कर तिर्न आग्रह गरेको थियो।
सिनेमा हलहरुले टिकट बिक्रीको ५ प्रतिशत मनोरञ्जन कर बुझाउनुपर्छ।