काठमाडौँ - भारतविरुद्धको महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा पाहुना टोली अस्ट्रेलिया २१ रनले पराजित भएको छ। ५ खेलको सिरिजमा अस्ट्रेलियाको यो दोस्रो जित हो। उसले पहिलो खेलमा भारतलाई ९ विकेटले हराएको थियो।
दोस्रो खेलमा भने अस्ट्रेलिया सुपर ओभरमा पराजित भयो। यो जितसँगै सिरिजमा अस्ट्रेलियाले २-१ को अग्रता लिएको छ। गएराति सम्पन्न तेस्रो टी-२० मा अस्ट्रेलियाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो।
उसका लागि शफाली वर्माले ४१ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाइन्। त्यस्तै, कप्तान हरमनप्रित कौरले ३७, दिप्ती शर्माले अविजित २५ र जेमिमाह रोड्रिग्जले १६ रन जोडेका थिए। अस्ट्रेलियाका लागि एश्ले गार्डनर र आर्सी ब्राउनले सर्वाधिक २/२ विकेट लिएका थिए।
त्यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७२ रन बनायो। उसका लागि अलराउन्डर एलिस पेरीले अर्धशतकीय पारी खेलिन्।
४७ बलको सामना गरेकी उनले ९ चौका र ३ छक्कासहित ७५ रन बनाएकी थिइन्। त्यस्तै, ग्रेस ह्यारिसले ४१ र बेथ मूनीले ३० रन बनाइन्। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।
भारतका लागि देविका वैद्य, अञ्जली सरवानी, रेनुका सिंह र दीप्ती शर्मालेले २/२ विकेट लिएका थिए। भारत र अस्ट्रेलियाबीचको चौथो टी-२० शनिबार हुनेछ।