काठमाडौँ - कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका छन् । मणिपाल शिक्षण अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ । शुक्रबार बिहान पोखरा ३ नदीपुरको भिरमा घाँस काट्ने क्रममा उनी लडेर घाइते भएका हुन् । उनी अचेत छन् ।
कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले कलाकार घिमिरे नदीपुरको भिरमा घाँस काट्ने क्रममा लडेर घाइते भएको भन्ने खबर आए पनि थप विवरण आउन बाँकी रहेको बताए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत कलाकार घिमिरेको शीघ्र स्वास्थ्यको कामना गर्दै उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनसँग आग्रह गरेका छन् । कलाकार घिमिरे अभिनीत फिल्म ‘पशुपतिप्रसाद–२ भष्मे डन’ अहिले हलमा चलिरहेको छ ।