गण्डकी। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले सञ्चालन गरेको डढेलो र वन्यजन्तु आक्रमण बीमा पीडित परिवारका लागि सहारा बनेको छ। वनमा लाग्ने डढेलो नियन्त्रण तथा वन्यजन्तुको आक्रमणका कारण ज्यान गुमाएका परिवार र घाइते व्यक्तिले महासङ्घले गरेको बीमामार्फत प्राप्त रकमबाट उपभोक्ताले केही हदसम्म भए पनि राहतको महसुस गरेका हुन्।
मुलुकमा बर्सेनि हिउँदका समयमा सामुदायिक वनमा लाग्ने डढेलो एवम् वन्यजन्तु आक्रमणबाट जनधनको क्षति हुने गरेको हुँदा महासङ्घले दुःखमा परेका उपभोक्ताको राहतका लागि २०७५ सालदेखि बीमाको व्यवस्था गर्दै आएको छ।
पीडित परिवारलाई रु एक लाख र घाइतेको उपचारका लागि १० हजारको बीमा गरिएको महासङ्घका केन्द्रीय सचिव ठाकुर भण्डारीले जानकारी दिए। उनका अनुसार नेपाल सरकारबाट वन्यजन्तुको आक्रमणबाट मृत्यु हुने प्रतिव्यक्तिको परिवारलाई रु १० लाख राहत उपलब्ध गराउँदै आएको छ। सरकार र महासङ्घद्वारा गरिएको बीमाको दोहोरो नपर्ने गरी पीडितले सुविधा पाउने व्यवस्था गरिएको छ।
मुलुकभरिका सामुदायिक वन समूहका उपभोक्ताको ५० जनाको मृत्यु तथा १०० जनासम्मको घाइते उपचारका लागि महासङ्घले वार्षिक रु चार लाख बराबरको प्रमु बीमा कम्पनीसँग सम्झौता गरेको उनको भनाइ छ।
महासङ्घले चालु आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट ज्यान गुमाएका एकजनासहित वनमा लागेको आगो नियन्त्रणमा परी सातजनाको मृत्यु भएकामा पीडित परिवारले बीमामार्फत जनही रु एक/एक लाख प्राप्त गरेको जनाउँदै उनले भने, “वन्यजन्तुको आक्रमणबाट पाँच र डढेलोबाट घाइते भएका १७ जनाले रु १० हजार दरले बीमाबापतको उपचार खर्च सम्बन्धित जिल्ला महासङ्घमार्फत प्राप्त गरिसकेका छन्।”
आगलागी र वन्यजन्तुबाट बर्दिया बाजुरा, सुर्खेत, पाल्पा, डोटी, गोरखा, मोरङ, अछाम, रुकुम पश्चिम, खोटाङ, बाँके, खर्घाखाँची लगायतका विभिन्न जिल्लाका १३ जनाको मृत्यु भएको र नौजना घाइते भएका व्यक्ति तथा परिवारले बीमाबापतको सुविधा प्राप्त गरेका थिए। जसमा आगलागीमा परी सातजनाको मृत्यु र आठजना घाइते भएका थिए भने वन्यजन्तुको आक्रमणबाट पाँचजनाको मृत्यु र एकजना घाइतेले सुविधा लिएका थिए।