यूएई टी–२० लिग हुने

काठमाडौँ - विश्वभरि नै लोकप्रिय पाइरहेको टी–२० लिग क्रिकेटमा अर्को अध्याय थपिने भएको छ। संयुक्त अरब इमिरेटस (यूएई) क्रिकेट बोर्डले यूएई टी–२० लिग शुरु गर्ने घोषणा गरेको छ। आईपीएल (भारतीय प्रिमियर लिग) कै फरम्याटमा आयोजना हुने यो लिग अर्को वर्ष फेबु्रअरी मार्चमा शुरु हुन सक्ने बताइएको छ। बोर्डले यो लिगमा भारतीय उद्योगपति मुकेश अम्बानी र गौतम अडानीका रिलायन्स समूह र अडानी समूहद्वारा टोली किनेको पुष्टि पनि गरेको छ।

इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) ले सोमबार जारी गरेको बयानमा अडानी स्पोर्टस् लाइन कम्पनीले यूएईको फ्लैग्सिप टी २० लिगमा आफ्नो फ्रेन्चाइजी किनेको बताइएको छ। यो लिगको लागि एक ल्यान्डमार्क साबित हुने पनि बोर्डले अपेक्षा गरेको छ। कुनै पनि विदेशी प्रतियोगितामा अडानी समूहको लागि यो पहिलो ठूलो लगानी हुनेछ। अडानी समूहभन्दा पहिले भारतीय मालिक भएको रिलायन्स समूहले पनि यो लिगमा आफ्नो फ्रेन्चाइजी किनेको छ।

अडानीको यूएई टी २० लिगमा टोली किनेको पुष्टि भएसँगै सबै ६ फ्रेन्चाइजी टोलीको टुंगो लागिसकेको छ। आगामी वर्ष शुरुवात हुने लिगमा म्यानचेस्टर युनाइटेड टोली पनि जोडिएको छ। म्यानचेस्टरको ग्लेजर समूह र दिल्ली क्यापिटल्ससँग जोडिएको जीएमआर समूहले पनि यो लिगमा टोली किनिसकेको छ। कोलकाता नाइट राइडर्सका मालिक शाहरूख खान पनि यो लिगमा संलग्न हुने सम्भावना छ। 

यस्तै,  अष्टेलियाको बिग बोस लिगको टोली सिड्नी सिक्सर्सले पनि यो लिगमा आफ्नो टोली उतार्नेछ ।ईसीबीले आधिकारिक रूपमा मान्यता दिएको यूएई टी २० लिगमा जम्मा ६ फ्रेन्चाइजी टोलीबीच कुल ३४ खेल हुनेछन्। विश्वभरिका अलग अलग टोलीका शीर्ष खेलाडीेले यस लिगमा भाग लिन सक्नेछन्। यो लिगमा एक टोलीमा ८ अन्तर्राष्ट्रिय खेलाडीले खेल्ने अनुमति दिइएको छ। यसले गर्दा यो लिग धेरै रोमाञ्चक र प्रतिस्पर्धा हुने अनुमान लगाउन सकिन्छ।

जबकि, आईपीएलमा एक टोलीमा चार अन्तर्राष्ट्रिय खेलाडी राख्न पाउने अनुमति रहेको छ। बोर्डका सचिव मुबासिर उस्मानीले लिग रोमाञ्चक हुनुका साथ साथै लिगमा नयाँ खेलाडीको लागि प्रतिभा देखाउने अवसर हुने बताए। यूएई टी–२० लिगको प्रत्यक्ष प्रसारण पनि गरिने भएको छ। यसको प्रत्यक्ष प्रसारण भारतीय टिभी च्यानेल जी मिडियाले गर्नेछ। यसको लागि ईसीबी पहिले नै जी मिडियासँग १० वर्षको लागि सम्झौता गरिसकेको छ। यो सम्झौता १ सय २० मिलियन डलरमा भएको पनि जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×