काठमाडौं - विश्वमा सबैभन्दा धेरै कमाइ गरेको हलिउड फिल्म ‘अवतार’ आगामी दशैं छेकोमा नेपालसहित विश्व बजारमा पुनः प्रदर्शन हुने भएको छ। डिज्ने स्टुडियोले असोज ७ गते (२३ सेप्टेम्बर) फिल्मलाई रि-रिलिज गर्न लागेको जानकारि दिएको हो। अहिलेसम्म विश्वभर २.८४७ बिलियन अमेरिकी डलर कमाइ गरेको साइन्स-फिक्सन फिल्म सन् २००९ मा नेपालमा पनि रिलिज भएको थियो। डिज्नेको अफिसियल नेपाल वितरक एप्पल इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले फिल्मलाई नेपालमा रि-रिलिज गर्ने पुष्टि गरेका छन्।
भारतसहितका मुलुकमा पनि सोही मितिमा ‘अवतार’ पुनः प्रदर्शन तयारी गरिएको छ। पुस १ गते दोस्रो सिक्वेल रिलिज हुने भएसँगै दर्शकलाई पहिलो भाग देखाउने उद्देश्यले पुनः प्रदर्शन गर्न लागिएको हो। अहिलेसम्म ओटीटीमा समेत रिलिज नभएकाले १३ वर्षयताको पुस्ताले ‘अवतार’ हेर्न पाएको छैनन्।
‘नहेरेका दर्शकले हेर्न पाउँछन् र हेरिसकेकालाई याद सम्झाउने अवसर हुनेछ,’ उद्दिनले अनलाइनखबरसँग भने। ‘अवतार’ रिलिज भएसँगै नेपालमा थ्रीडी प्रविधि पनि भित्रिएको थियो। अवतार नेपालमा पहिलो पटक थ्रीडी प्रविधिमा रिलिज हुने फिल्म समेत हो।जेम्स क्यामरुन निर्देशित ब्लकबस्टर फिल्म ‘टाइटानिक’ पनि नेपालमा थ्रीडी प्रविधिमा पुनः प्रदर्शन भएको थियो।
रञ्जना फिल्म हलका व्यवस्थापक विनोद पौडेलले अवतार पुनः रिलिज हुँदा यसले एक सातासम्म अन्य फिल्मलाई समेत प्रभावित तुल्याउन सक्ने बताएका छन्। अवतार रि-रिलिजको दुई सातामा नेपालमा ‘छक्का पञ्जा’को नयाँ सिरिज रिलिज गर्ने तयारी छ।