मेलम्ची- मेलम्ची नगरपालिका वडा नं ७ र ८ मा १०४ गलैँचा बुन्ने बालमजदुर भेटिएका छन्। यसमा १०० बालिका र चार बालक रहेका छन्। महिला आत्मनिर्भरता केन्द्रले गरेको अध्ययनअनुसार गलैँचा बुनाई श्रममा संलग्न बालश्रमिकमध्ये ९–१४ वर्ष समूहका ५२ प्रतिशत र १५–१८ वर्ष उमेर समूहका ४८ प्रतिशत छन्।
यीमध्ये १५ दशमलव ८५ प्रतिशत बालश्रमिक विद्यालय बाहिर छन्। अन्य बालबालिका बिहान बेलुकी गलँैचा बुन्ने र दिउँसो विद्यालय जाने गरेका छन् तर विद्यालयका शिक्षकले उनीहरु भर्ना भए पनि निरन्तर विद्यालय नआउने भएकाले पढाइमा कमजोेर भएको बताएका छन्।
महिला आत्मनिर्भरता केन्द्रले बुधबार मेलम्चीमा सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार इँटाभट्टा र जरी उद्योगमा खासै बालश्रममा गएको वा संलग्न भएको पाइएको छैन। गलैँचा बुनाइमा संलग्न बालबालिका अधिकांश वडा नं ७ र ८ मा पाइएको, अन्य वडामा न्यून मात्र रहेको संस्थाका अनुगमन तथा मूल्याङ्कन अधिकृत ध्रुव सापकोटाले जानकारी दिए। घरमा सञ्चालन भएका अधिकांश गलैँचा उद्योग नगरपालिका वा अन्य निकायमा दर्ता भएका छैनन्। वडा कार्यालयसँग पनि यसको अभिलेख नभएको वडा नं ८ का वडाध्यक्ष टंकराज गिरीले जानकारी दिए।
गलैँचा बुनाइमा लागेका बालश्रमिकले ढाड दुख्ने, आँखामा समस्या हुने, चोटपटक लाग्ने जस्ता शारीरिक समस्याका साथै मानसिक समस्यासमेत भएको बताएका छन्। १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि बालश्रममा संलग्न गराउन नपाइने कानुनी व्यवस्था भए पनि खासगरी अभिभावकले नै आफ्ना छोराछोरीलाई उनीहरुको अधिकार हनन गरी श्रममा लगाइरहेका छन्।
अध्ययनअनुसार ६१ प्रतिशत श्रमिक बालबालिका आर्थिक समस्याका कारण गलैँचा बुनाइमा लागेको बताएका छन् भने ३९ प्रतिशतले अभिभावकको दबाबमा संलग्न भएको बताएका छन्। ४७ प्रतिशत श्रमिक बालबालिकालाई आफ्नो दैनिक पारिश्रमिक पनि थाहा छैन भने ८७ प्रतिशत श्रमिक बालबालिकाका पारिश्रमिक अभिभावकले नै लिने गर्दछन्। उनीहरुले दैनिक न्यूनतम दुई घण्टादेखि अधिकतम १० घण्टासम्म काम गर्ने गर्दछन्।