मङ्गलबारे। वरिष्ठ गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकले श्रीमतीको स्मृतिमा पुरस्कार कोष स्थापनाको घोषणा गरेका छन्। आफ्नी श्रीमती निरा शेरचन राईको ४५ दिनको पुण्य तिथिका अवसरमा उनले सोे घोषणा गरेका हुन्। उनको सम्झनामा प्रदेश नं १ मा क्रियाशील पत्रकारलाई प्रदान गर्ने गरी रु २० हजार राशिको पुरस्कार घोषणा गरेको उनले बताए। रेडियो फिक्कल इलामका सञ्चालक समिति अध्यक्षसमेत रहेका रसिक हाल जन्मथलो भोजपुरमा छन्। समाजमा योगदान दिने पत्रकारहरु समाज परिवर्तनमा खटिहिरहने भए पनि खासै मूल्याङ्कन नहुने गरेकाप्रति आफू चिन्तित रहेको जनाउँदै यस्तो पुरस्कार वितरण गरिएको उनले बताए। समाजका जो कोही व्यक्तिलाई सम्मान गर्नुपर्छ भन्ने धारणा रहेकी श्रीमतीको मृत्यु भएपछि उनकै सम्झनामा पत्रकारिताजगतबाट समाजमा योगदान पुर्याउनेमध्येबाट एकजनालाई हरेक वर्ष सम्मानसहित पुरस्कृत गरिने रसिक परिवारको भनाइ छ। समाजमा असल नियतका साथ योगदान दिने व्यक्तिमा प्रोत्साहन हुने ठानेर आफूहरू सो पुरस्कार स्थापना गर्ने मोडमा पुगेको छोरी निरजा राई प्रधानले बताइन्। नेपाल नाट्य तथा सङ्गीत प्रज्ञाप्रतिष्ठानका पूर्वसदस्यसचिव एवं रेडियो फिक्कलका अध्यक्षसमेत रहेकी उनले राम्रो काम गर्नेलाई सधैँ हौसला प्रदान गर्नुपर्ने तथा सोही अनुसार आफूहरु लागिपरेको सुनाइन्। सो पुरस्कार हरेक वर्ष स्व निरा शेरचनको निधन भएको दिन कात्तिक १० गते प्रदान गरिनेछ तर यस वर्ष भने रेडियो फिक्कलको वार्षिक उत्सवका अवसरमा आगामी पुुस १७ गते प्रदान गरिने जनाइएको छ। शेरचनको कोरोना सङ्क्रमणका कारण गत कात्तिक १० गते काठमाडौँमा निधन भएको थियो।