काठमाडौँ - दक्षिण भारतीय फिल्म उद्योगको बहुप्रतिक्षित फिल्म ‘सलार’को प्रदर्शन मिति सार्वजनिक भएको छ।
‘केजीएफ’ फिल्म श्रृङ्खलाका निर्देशक प्रशान्त निलको निर्देशनमा बनेको उक्त फिल्म आगामी वर्ष प्रदर्शन हुन लागेको हो। फिल्मको निर्माण पक्षकाअनुसार आगामी वर्षको २८ सेप्टेम्बरमा फिल्म रिलिज हुनेछ।
तेलगु भाषाको उक्त फिल्ममा अभिनेता प्रभासको मुख्य अभिनय रहेको छ। निर्माण पक्षले फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्दै फिल्मको पोस्टर पनि सार्वजनिक गरेको छ। पोस्टरमा अभिनेता प्रभास ४ वटा बन्दुक र हातमा २ वटा तरवार लिएर उभिएका छन्। प्रभासको पछाडि लासहरुको थुप्रो देखिन्छ।
धेरैले प्रभासको ‘सलार’लाई ‘केजीएफ’ अन्तर्गतकै फिल्म भएको भनेर पनि विभिन्न टिप्पणी गरिरहेका छन्। तर, निर्माण पक्षले हालसम्म उक्त विषयमा केही बोलेको छैन।
‘सलार’ प्रदर्शन भएकै समयमा बलिउड अभिनेता ऋतिक रोशनको बहुप्रतिक्षित फिल्म ‘फाइटर’ पनि प्रदर्शनमा आउँदै छ।