काठमाडौँमा हैजाका बिरामी २७ जना पुगे

काठमाडौँ - काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएका छन्। बिहीवार तीन जनामा हैजा पुष्टि भएकोमा हिजो थप चार जनामा हैजा देखिएको छ। योसहित काठमाण्डौ उपत्यकामा हैजा पुष्टि हुनेको सङ्ख्या २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक काठमाण्डौको कागेश्वरी मनहरा–६ का तीन र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएको छ। इपिडिमियोलोजी  तथा  रोग नियन्त्रण महाशाखाका  प्रमुख  डा.  चुमनलाल  दासले  पछिल्ला दिनमा  दैनिक  रूपमा  हैजाका  बिरामी  पुष्टि हुँदै  गएको र थप सावधानी अपनाउनुपर्ने देखिएको बताए। यसअघि हैजा पुष्टि भएका व्यक्तिलाई १० दिनसम्म अस्पताल भर्ना गरी उपचारपछि डिस्चार्ज गरिएको  थियो।

परीक्षण नगराएका अरू व्यक्तिलाई पनि हैजा हुनसक्ने भएकाले सचेत रहन डाक्टरको सुझाव छ। खानपान र सरसफाइमा ध्यान नदिए प्रकोपकै रुपमा फैलने भन्दै सचेत रहन समेत आग्रह गरिएको छ। भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा दूषित पानी वा खाद्यवस्तुबाट सर्ने गर्छ।

सङ्क्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ। तारन्तार चौलानी जस्तो सेतो पानीसहित दिसा लाग्ने, वान्ता हुने र थकाइ महसुस हुने हैजाका लक्षण हुन्। यस्ता लक्षण देखिनासाथ घरमै प्राथमिक उपचार सुरु गरी तुरुन्त अस्पताल जान पनि डाक्टरको सुझाव छ।

प्राथमिक उपचारका क्रममा घरमै जीवनजल र झोलिलो नुनिलो खानेकुरा खान सकिन्छ। उमालेको वा शुद्धीकरण गरिएको पानी पिउन, स्वस्थ खानेकुरा खान र दिसा गरेपछि र खाना खानुअघि राम्रोसँग साबुन पानीले हात धुन डाक्टरको सल्लाह छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×