काठमाडौँ - इंग्लिस क्लब टोटेनहमका स्ट्राइकर ह्यारी केनले नयाँ कीर्तिमान कायम गरेका छन्। उनले एकै क्लबबाट सर्वाधिक धेरै प्रिमियर लिग गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन्।
प्रिमियर लिगअन्तर्गत शनिबार राति उल्भ्सविरुद्धको जितमा निर्णायक गोल गरेसँगै केन यो कीर्तिमान आफ्नो नाममा गराउन सफल भएका छन्। उल्भ्सविरुद्धको यो गोल प्रिमियर लिगमा टोटेनहमका लागि केनको १८५ औं गोल हो।
केनले म्यानचेस्टर सिटीका पूर्वस्ट्राइकर सर्जियो अगुइरोको नाममा रहेको १८४ गोलको कीर्तिमान तोडेका हुन्। इंग्लिस स्ट्राइकर केनले करियरको २५० औं गोल समेत पूरा गरेका छन्।