काठमाडौँ - देश सङ्घीयतामा गए)पछि यहाँका नागरिकले घरदैलोमै सरकार पुगेको आभाष पाएका छन्।
कतिपय स्थानीय तहले उदाहरणीय काम गरेर देखाएका पछि छन्। तीमध्ये इन्द्रावती गाउँपालिका एउटा उदाहरणीय स्थानीय तह बन्न पुगेको छ। उक्त गाउँपालिकाले जनभावनाअनुसार विभिन्न योजना तथा परियोजना सञ्चालन गर्दै आएको गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए। गाउँपालिकाको कार्यपालिकामा आफ्नो अल्पमत भए पनि हालसम्म कुनै पनि विषयमा अवरोध सिर्जना नभएको आम नागरिकको मागअनुसार नै योजनाबद्व तरिकाले पालिकाले विकास र निर्माणका काम गर्दै आएको उनको भनाइ थियो।
हालसम्म सबै वडाका टोलटोलमा मोटर बाटो खन्ने, स्तरोन्नति गर्ने र कालोपत्रे गर्ने काम भइरहेको छ। विद्यतीकरणअन्तर्गत पालिका काठेपोल मुक्त गाउँपालिका घोषणाको अन्तिम तयारीमा छ भने पालिकाभित्र बसोबास गर्ने करिब २८ हजार भन्दाबढी नागरिकलाई स्वच्छ खानेपानी खाने उपलब्ध गराउन लागिएको छ। स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम भएको र गाउँपालिकाको प्रशासनिक भवनले उत्तिकै चर्चा पाइरहेको छ। प्यागोडाशैलीमा निर्माण गरिएको भवन सामाजिक सञ्जालका साथै विभिन्न सञ्चारमाध्यममा चर्चाको विषय बनेको हो। यसैगरी सबै वडा कार्यालयको भवन निर्माण भएर सेवा प्रवाह पनि हुन थालेको छ।
खेलकुदको विकासका लागि सबै वडामा एक वडा एक खेल मैदानको अवधारणा ल्याई सबै वडावासीले आफ्नै वडाको मैदानमा खेल्ने अवसर उपलब्ध गराउन केही वडामा खेल मैदान निर्माण भइसकेका र केही वडामा निर्माणको अन्तिम चरणमा पुगेको छ।