धारामा पानी नआउने उपभोक्ताको बिल मिनाहा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धारामा पानी नआउने तर बिल आउने समस्याबाट धेरै उपभोक्ता दिक्दार भएकाले त्यो समस्या तुरुन्त समाधान गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ तथा छलफल कार्यक्रममा उनले पानी नआउने उपभोक्ताको बिल मिनाहा गर्न निर्देशन दिएका हुन् ।

प्रचण्डले भने, ‘धारामा पानी नआउने तर बिल चाहिँ आइरहने समस्या के हो ? यसबाट उपभोक्ताहरू दिक्दार छन् । त्यसैले कहाँ–कहाँ त्यस्तो समस्या छ, जहाँको धारामा पानी आउँदैन, त्यो बिल मिनाहा गर्ने व्यवस्था मिलाउनुस् र आगामी दिनमा त्यस्तो समस्या आउन नदिन योजनावद्ध रूपमा काम गर्नुस् ।’

उनले एक महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा ल्याइने भएकाले खानेपानी मन्त्रालयको नेतृत्व र सबै टिमलाई विशेष चासो दिएर काम गर्न निर्देशन दिए । बैठकमा नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले मेलम्चीसँगै याङ्ग्री र लार्के खोलाको पानी मेलम्ची आयोजनामा जोड्ने कामलाई प्राथमिकता दिनुपर्ने बताउँदै मेलम्ची आयोजना निर्माणका क्रममा बाँकी रहेको बक्यौता रकम कानुनी प्रक्रिया मिलाएर टुंगाउनुपर्ने बताए । उनले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि केही नयाँ प्रावधान राखेर जानुपर्ने धारणा राखे ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×