जुम्ला - नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीलाई दुर्गबहादुर बुढाले पहिलो स्वर्ण पदक दिलाएका थिए। पोखरामा सम्पन्न प्रतियोगिताको एथ्लेटिक्समा जुम्लाका बुढाले राष्ट्रिय कीर्तिमानसहित कर्णालीलाई पहिलो स्वर्ण दिलाएको भन्दै मंगलबार उनलाई सम्मान गरिएको छ। उनले पुरुषतर्फको ३ हजार मिटर स्टेबल चेसमा स्वर्ण जितेका हुन्।
भारतीय सेनामा कार्यरत बुढाले निर्धारित दूरी ८ मिनेट ५५ः१९ सेकेन्डमा पूरा गरेका थिए। यसअघि सन् २००४ मा पाकिस्तानको इस्लामावादमा राजेन्द्र भण्डारीले ८ मिनेट ५७ः३० सेकेन्डको कीर्तिमान बनाएका थिए।
कर्णालीले स्वर्णपदक जितेको खबरले उत्साहित भएर सम्मान कार्यक्रमको आयोजना गरेकाे सनलाईट इलेक्ट्रोनिकका व्यापारी एवं खेलप्रेमी बालकृष्ण बुढाले बताएका छन्। साे अवसरमा बुढाले रोजगारीको सिलसिलामा भारतीय सेनामा काम गर्नु वाध्यता रहेको बताए। उनले खेलाडीको भविष्यप्रति राज्य गैरजिम्मेवारी बनेकाे बताएका छन्।
बुढाले कर्णाली प्रदेश सरकारबाट २ लाख रुपैयाँ पुरस्कार पनि पाउने भएका छन्। कर्णाली प्रदेश खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीलाई २ लाख पुरस्कार दिने घोषणा गरेको सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए।